बारको आन्दोलनमा अधिवक्ताहरुको उग्र रुप, देखिए असभ्य


काठमाडौं, २८ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अविलम्ब राजीनामा दिनुपर्ने भन्दै कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशन अहिले आन्दोलित छ । बारले अघि सारेका मागअनुसार प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने रहेको छ। उता, सर्वोच्च अदालतका न्यायाधीशहरु पनि बेञ्च बहिष्कार गरेर बसेका छन्।

तर, प्रधानन्यायाधीश जबराले भने आफू संविधानसम्मत् रुपमा नियुक्त भएर आएकोले हटाउने भए संवैधानिक रुपमा मात्रै हटाउन खुल्ला चेतावनी दिएका छन् । पहिलोपटक पत्रकार ऋषि धमलासँगको टिभी अन्तर्वार्तामार्फत उनले आफूले कुनैपनि हालतमा राजीनामा नदिने बताएका थिए । उनले भनेका थिए,‘कसैले सडकबाट राजीनामा माग्दैमा राजीनामा दिने हो भने त भोलि सर्वोच्च अदालतको हालत के हुन्छ ? त्यसैले म संविधानबमोजिम नियुक्त भएको हुँ, संविधानबमोजिम नै म जान तयार छु । तर, कसैले सडकमा बसेर राजीनामा माग्दैमा म राजीनामा दिनेवाला छैन् ।’

पछिल्लो समय बारको आन्दोलनमा वकिलहरुको उग्र रुप देखिन थालेको छ । कहिले बार परिसरमै वकिल वकिलबीच मारपिट हुने, कहिले अमर्यादित शब्द बोल्ने र न्यायमूर्तिहरुलाई तल्लोस्तरको भाषा प्रयोग गरेर गलत आरोप लगाउनेजस्ता गतिवििध भएका छन् । कानून व्यवसायी भनेको त जनताको अदालतसम्म पुग्ने अथवा न्याय पाउने सारथी हो । तर, विद्धान वकिलहरु नै अहिले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने नाममा उग्र रुपमा उत्रिएका छन् । उनीहरुले ‘प्रधानन्यायाधीश’ जस्तो व्यक्तिलाई तल्लोस्तरमा उत्रिएर आरोप लगाउने गरिरहेका छन् ।

अदालत खोल्नुपर्ने माग गर्ने महिलाहरुमाथि आक्रमण देखि अपशब्द प्रयोगको भिडियो भाइरल

बारको आन्दोलनको क्रममा सार्वजनिक भएका कतिपय भिडिओमा त उनीहरुले प्रधानन्यायाधीशलाई विचौलियाको नाईके, भ्रष्टाचारी आदी ईत्यादी आरोप लगाएका छन् । उनीहरुमा संवेदनशीलता हराएको जनगुनासो बढेको छ। बारजस्तो गरिमामाय इतिहास बोकेको संस्थाले गरेको आन्दोलनमा वकिलहरुको मुखबाटै यस्तो असभ्य प्रस्तुति देख्दा बारप्रति जनताको सम्मान घटेको छ । प्रधानन्यायाधीश जबराले बारका पदाधिकारीसँग निरन्तर छलफल तथा सम्वाद गरिरहेका छन् ।

उनले अदालतलाई सञ्चालनको लागि सबै विकल्पमा छलफल गर्न आफू तयार रहेको पनि सन्देश दिएका छन् । उनले राजीनामाबाहेक सबै विकल्पमा छलफल गर्न आफू तयार रहेको सन्देश बारका पदाधिकारीलाई पठाईसकेका छन् । न्यायालयमा पछिल्लो समय घटेको घट्नाले देशभरिका बुद्धिजिवीहरु अहिले चिन्तित छन् ।

जनताको न्याय पाउने अधिकारमाथि खेलबाड गरिएको लगायत गुनासो बढ्न थालेको छ । न्यायाधीशहरुले बेञ्च बहिष्कार गर्नु र अधिवक्ताहरुले बहस/पैरवी नगर्नुले जनतामाथि अन्याय भएको पनि चर्चा सुरु भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका पछिल्ला अभिव्यक्तिलाई लिएर जनता चिन्तित छन् । त्यत्रो संस्थाको नेतृत्वकर्ताले प्रधानन्यायाधीशजस्तो व्यक्तिलाई तल्लो स्तरमा उत्रिएर गालीगलौज गर्नु र आरोप लगाउनु अशोभनीय भएको चर्चा वकिलहरुबाट नै भैरहेको छ।

Photo By: Mukunda Kalikote/ReportersNepal