Logo

चन्द्रमामा पुनः मानव पठाउने अमेरिकी लक्ष्य एक वर्ष विलम्ब हुने



एजेन्सी, २८ कात्तिक। सन् १९७२ पछि पहिलो पटक मानवलाई चन्द्रमा पठाउने नासाको लक्ष्य एक वर्ष पछि सर्ने भएको छ। लगानीको अभाव र चन्द्रमामा अवतरण गर्ने वाहनबारे मुद्दा चलेको भए पनि केही पर्यवेक्षकहरूले नासाले पूर्वघोषित वर्ष अर्थात् सन् २०२४ मै उद्देश्य पूरा गर्ने अपेक्षा गरेका थिए। तर नासा प्रमुख बिल नेल्सनले गत साता एउटा पत्रकार सम्मेलनमा लक्ष्य प्राप्त गर्न विलम्ब हुने पुष्टि गरे।

‘आर्टमस’ नाम दिइएको यो अन्तरिक्ष उडान कार्यक्रमअन्तर्गत नासाले चन्द्रमामा पहिलो पटक महिला अन्तरिक्षयात्री र तेह्रौँ पुरुषलाई चन्द्रमामा पुर्‍याउन खोजेको छ। केही समयअघि एक अमेरिकी सङ्घीय न्यायाधीशले यस कार्यक्रमका लागि चन्द्रमामा अवतरण गर्ने वाहन निर्माणको ठेक्का इलोन मस्कको कम्पनी स्पेसएक्सलाई दिने नासाको निर्णयको पक्षमा फैसला सुनाए।

एमजनका संस्थापक जेफ बेजोसले उक्त निर्णयको विरोध गरेका थिए। उनका अनुसार उक्त ठेक्का एकभन्दा बढी कम्पनीलाई दिइनुपर्ने थियो। यद्यपि सहमति घोषणाको समयमा नासाले जारी गरेको विज्ञप्तिका अनुसार कङ्ग्रेसबाट पर्याप्त बजेट विनियोजन नभएका कारण त्यो सम्भव भएन। संस्थाका प्रमुख नेल्सनले सोही मुद्दाका कारण समयावधि लम्बिएको सङ्केत गरे।”जतिसक्दो चाँडो र सुरक्षित रूपमा चन्द्रमामा फर्किनु नासाको प्राथमिकता हो। यद्यपि मुद्दा र अन्य कारणहरूले गर्दा आर्टमस कार्यक्रमअन्तर्गत पहिलो मानव अवतरण सम्भवतः २०२५ भन्दा पहिले सम्भव छैन,” उनले भने।

समीक्षकहरूले भने गत वर्षदेखि नै अन्तरिक्षयान निर्माणका लागि रकमको अभावले नै सन् २०२४ सम्ममा नासाको लक्ष्य पूरा नहुने बताउँदै आएका थिए।यो योजनामा ल्यान्डर बनाउने सम्झौताका लागि प्रतिस्पर्धा गर्न बेजोसको कम्पनी ब्लू ओरिजिनले अन्य तीन एरोस्पेस कम्पनीहरूसँग साझेदारी गरेको थियो। गत साताको निर्णयबाट अहिले दक्षिणी टेक्ससमा परीक्षण भइरहेको स्पेसएक्सको स्टार शिप मानिसलाई चन्द्रमाको सतहमा पुर्‍याउन साधन बन्नेछ।

आर्टमस कार्यक्रमअन्तर्गत रहेको पहिलो अभियान आगामी वर्षको फेब्रुअरी महिनामा उडान गर्न तयार छ। शक्तिशाली अन्तरिक्ष प्रक्षेपण प्रणाली (एसएलएस) मा आधारित ‘ओरिअन’ नामक उक्त अन्तरिक्षयानलाई नासाले बिनामानव प्रक्षेपण गर्नेछ।यस अभियानका क्रममा ओरिअन तीन सातासम्म चन्द्रमाको वरिपरि उड्नेछ। उक्त अवधिमा त्यसमा प्रयोग भएको प्रणालीको परीक्षण हुनेछ। अन्तरिक्षयात्रीहरू सहितको पहिलो उडान आर्टमस-२ अन्तर्गत सन् २०२४ मा हुने नेल्सनले बताए।

उक्त उडान पनि चन्द्रमाको वरपर हुनेछ।त्यसपछि आर्टमस-३ सन् १९७२ को अपोलो १७ पछि चन्द्रमाको सतहमा फर्कने पहिलो अभियान हुनेछ। यसलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने तयारी भइरहेको छ, जहाँ सूर्यका किरण नपर्ने खाडलहरूमा ठूलो मात्रामा जमेको पानी भण्डारण भएको मानिन्छ। त्यहाँको बरफलाई चन्द्रमामा रकेटको इन्धन बनाउन प्रयोग गर्न सकिन्छ। त्यसो भयो भने चन्द्रमामा अन्वेषणको लागत घटाउन मद्दत पुग्छ। यस कार्यक्रममार्फत् पहिलो पटक गैर-श्वेत समुदायका व्यक्ति पनि चन्द्रमामा पुग्नेछन्। तर आर्टमस-३ मै त्यो उपलब्धि हुन्छ या त्यसपछिका अभियानहरूमा भन्ने चाहिँ स्पष्ट छैन।-बीबीसी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्