Logo

ओली अध्यक्ष बन्ने शतप्रतिशत निश्चित नै हो, महाधिवेशनमा माधव नेपालको पार्टीलाई बोलाउन आवश्यक छैन: पृथ्बीसुब्बा गुरुङ (भिडिओसहित)



प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले आगामी १०औं महाधिवेशनबाट केपी शर्मा ओली नै सर्वसम्मत्को अध्यक्ष बन्ने घोषणा गरेका छन् । उनले नेतृत्वको लागि महाधिवेशनमा सकेसम्म निर्वाचन नहुने यदि भईहाल्यो भने पनि ओली नै विजयी हुने पनि दाबी गरे । आज (आइतबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको महाधिवेशनमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई नबोलाईने पनि स्पष्ट पारे । उनले भनेका छन्–‘होइन, त्यो त हाम्रो कुरा हो नि । हाम्रो महाधिवेशनमा कसलाई बोलाउने अनि कसलाई नबोलाउने भन्ने त हाम्रो कुरा हो नि । यसमा हामीलाई कसैले निर्देशित गर्ने होइन् । हामी यो मुलुकको सबै राजनीतिक दलहरुलाई पठाउँछौं । तर, त्यो पार्टीलाई बोलाउने अथवा नबोलाउने भन्ने कुरा हामीले निर्णय गरिसकेका छैनौं । तर, हामीले त्यस्तो पार्टीलाई किन बोलाउछौं र ? हाम्रो पार्टीलाई तोडेर, फोडेर, हाम्रो पार्टीको सरकारलाई गिराएर त्यस्तो अनुशासनहीन व्यक्तिहरुको पार्टीलाई मान्यता दिने हो भने हाम्रो पार्टीभित्र कसरी अनुशासन कायम हुन्छ ? अहिले उहाँहरुलाई हाम्रो महाधिवेशनमा बोलाउन आवश्यकत्ता छ जस्तो अहिले देखिएको छैन् ।’ प्रस्तुत छ नेता गुरुङसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेकपा (एमाले)को महाधिवेशनमा प्रतिनिधि छनोट गर्दा केन्द्र हाबी भएको देखियो, किन यस्तो भयो ?

महाधिवेशनको विधि, प्रक्रिया र पद्धती त केन्द्रकै मान्नपर्यो नि होइन् र ?

तर, स्थानीयस्तर र जिल्लाबाट प्रतिनिधि छनोट गर्दा जनताको चाहनाअनुरुप छनोट हुने होइन र ?

स्थानीय जनता भन्ने हुँदैन् । त्यहाँ हाम्रो पार्टीका सदस्यहरुबाट निर्वाचित हुने हो । सबै ठाउँमा व्यापक रुपमा छलफल गरेर सहमतिको आधारमा प्रतिनिधिहरु छनोट भएका छन् ।

केपी शर्मा ओलीले जसलाई प्रतिनिधि बनाउन चाहनुभयो त्यहीअनुरुप भयो भन्छन् ?

होइन्, तपाईंले मैले भनेको बुझ्नुभएन ? कति गते कुन ठाउँमा कसरी गर्ने ? अनिा कति जना पार्टीको प्रतिनिधि आउने भनेर केन्द्रले नै तोकेको हुन्छ । केन्द्रको मापदण्डको आधारमा हुन्छ । प्रदेश कमिटीको चाहीँ प्रदेशले नै निर्वाचनको आयोजना गर्छ । जनसंगठनबाट ५ जना आउने जनसंगठनले त्यसको जिम्मा लिएको हुन्छ । केन्द्रबाट त्यसरी एउटा व्यक्तिले भनेर भएको छैन् ।

नेकपा (एमाले) लोकतन्त्रलाई विश्वास गर्ने पार्टी हो तर, कार्यकर्ताहरुले प्रतिष्पर्धा गरेर नेतृत्व चयन गर्न पाएनन् नि ?

होइन् होइन्…. त्यसो होइन् । बहुमत र अल्पमतको आधारमा निर्णय गर्दा मात्र लोकतान्त्रिक हुन्छ र ? लोकतन्त्रमा सबैभन्दा राम्रो कुरा भनेको नै सर्वसम्मत् हो । सर्वसम्मत् भएन भनेमात्र बहुमत र अल्पमतको आधारमा नेतृत्व चयन गर्ने हो । यसपटक हाम्रो पार्टीमा धेरै ठाउँमा सर्वसम्मत् रुपमा निर्वाचित भएका छन् । केही ठाउँमा मात्र प्रतिस्पर्धा भएको हो ।

तपाईंहरु चिनियाँ मोडलमा जानुभएको हो ?

यो नहुने कुरा तपाईं किन जोड्नुहुन्छ ? हामीले जुन ढंगले गरेका छौं, त्यो भनेको एकदम लोकतान्त्रिक विधि हो । हामीले लोकतान्त्रिक विधिबाट गरेका छौं ।

तर, जनताले आफूले चाहेका मान्छेहरु ल्याउन पाएनन् नि त ?

त्यसो होइन्, नेपाली काँग्रेसले हामीभन्दा पहिला सुरु गरेको अझैसम्म गर्र्न सकेको छैन् । हाम्रो त तोकिएको समयमा भएको छ । हाम्रो जुनदिन भएको थियो त्यहीदिन सम्पन्न भएको छ । सम्पन्न नभएको केही ठाउँहरुमा आज सम्पन्न हुन्छ ।

तपाईंको पार्टीमा केपी शर्मा ओलीले जे भन्नुभयो त्यही हुन्छ, होइन् ?

हाम्रो पार्टी कति लोकतान्त्रिक र व्यवस्थित् पार्टी रहेछ भन्नु न । एकै दिनमा सबै ठाउँमा नेतृत्व चयन गर्नसक्यो । यो साधारण कुरा होइन । नेपालमा यो काम नेकपा (एमाले) ले मात्र गर्न सक्छ, नेकपा (एमाले) बाट सबै पार्टीले सिक्नुपर्छ । जिल्लावासीले व्यापक रुपमा छलफल गरेरमात्र प्रतिनिधि छनोट गरेका छन् । केही सर्वसम्मत् रुपमा हुन नसकेका ठाउँहरुमा प्रतिष्पर्धा पनि भएको छ । केपी शर्मा ओलीले सकेसम्म झगडा नगर मिलेर अघि बढ्नुपर्छ भन्नुभएको हो । उहाँले रामबहादुर र धनबहादुर ल्याउँ भनेर भन्नुभएको होइन् । उहाँले आफ्ना नेता÷कार्यकर्तालाई सकेसम्म मिलेर जानुपर्छ भन्नुभएको हो ।

उसोभए केपी शर्मा ओली फेरी पनि नेकपा (एमाले)को अध्यक्ष बन्ने पक्का होइन् त ?

त्यो त शतप्रतिशत निश्चित् नै हो नि ।

नेकपा (एमाले) मा केपी शर्मा ओलीको विकल्प छैन् ?

हो, अहिलेलाई उहाँको विकल्प छैन् ।

तर, भीम रावल र घनश्याम भुसालले हामी केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्छौं भन्नुभएको छ ?

हाम्रोजस्तो लोकतान्त्रिक पार्टीमा जसले पनि उम्मेद्वारी दिन पाउँछ । मैले भनेको के हो भने चुनाव पनि हुनसक्छ तर जित्ने भनेको केपी शर्मा ओलीले नै हो ।

त्यसोभए नेकपा (एमाले) मा अध्यक्षको निर्वाचन हुन्छ ?

निर्वाचन हुनपनि सक्छ । नेकपा (एमाले) मा निर्वाचन नहुने भन्ने केही छ र ?

तर, केपी शर्मा ओलीको चाहना भनेको सर्वसम्मत् रुपमा अध्यक्षमा चयन हुने हो नि, होइन र ?

चाहना हुने भनेको एउटा कुरा हो । तर, सर्वसम्मत् भएपनि नेता नै हो । बहुमतले निर्वाचित भएपनि नेता नै हो ।

वडा र जिल्ला अधिवेशनमा उहाँले भनेअनुसार नै भएको छ, अब उहाँले आफुलाई सर्वसम्मत् अध्यक्ष बनाउन सक्नुहोला ?

केपी शर्मा ओली पार्टी अध्यक्ष हुनुहुन्छ । उहाँले पार्टीको कुरा सुनाउनुभएको हो । सर्वसम्मत् रुपमा छनोट गर्ने भन्ने कुरा हाम्रो केन्द्रीय कमिटी र स्थायी समितिले निर्णय गरेको हो । यसपटक परिस्थिति धेरै जटिल रहेको छ । चाँडै सक्नुपर्छ । चुनाव धेरै नजिक आइसकेको छ । चुनावको तयारी गर्नुपर्छ भनेर हाम्रो पार्टीले निर्णय गरेको हो । त्यही निर्णयलाई उहाँले भन्नुभएको हो । उहाँले सर्वसम्मत् गर भनेर निर्देशन दिनुभएको होइन् । उहाँले सकेसम्म महाधिवेशन सभ्य तरिकाले गरौं भनेर भन्नुभएको हो । यसलाई त्यसरी बुझ्नुहुँदैन् । महाधिवेशनमा उहाँ नै अध्यक्षमा निर्वाचित हुनुहुन्छ ।

नेकपा (एमाले)को महाधिवेशनमा माधवकुमार नेपालको पार्टीलाई अवैध भन्दै नबोलाउने घोषणा गर्नुभयो, यो काम गलत भएन र भन्या ?

होइन्, त्यो त हाम्रो कुरा हो नि । हाम्रो महाधिवेशनमा कसलाई बोलाउने अनि कसलाई नबोलाउने भन्ने त हाम्रो कुरा हो नि । यसमा हामीलाई कसैले निर्देशित गर्ने होइन् । हामी यो मुलुकको सबै राजनीतिक दलहरुलाई पठाउँछौं । तर, त्यो पार्टीलाई बोलाउने अथवा नबोलाउने भन्ने कुरा हामीले निर्णय गरिसकेका छैनौं । तर, हामीले त्यस्तो पार्टीलाई किन बोलाउछौं र ? हाम्रो पार्टीलाई तोडेर, फोडेर, हाम्रो पार्टीको सरकारलाई गिराएर त्यस्तो अनुशासनहीन व्यक्तिहरुको पार्टीलाई मान्यता दिने हो भने हाम्रो पार्टीभित्र कसरी अनुशासन कायम हुन्छ ?

उसोभए नेकपा (एकीकृत समाजवादी) लाई नेकपा (एमाले) को महाधिवेशनमा नबोलाउने ?

बोलाउन आवश्यकत्ता छ जस्तो अहिले देखिएको छैन् ।

हिजो माधवकुमार नेपालले नेकपा (एमाले) ले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनायो भन्नुभयो, यस विषयमा तपाईं के भन्नुहुन्छ ?

उहाँहरुले सराप त गरिरहनुभएको छ नि । तर, उहाँहरुको सरापले हामी सकिँदैनौ नि । हामी सकिने भनेको हाम्रो असफलताले हो । उहाँहरुको गालीले हामीलाई केही पनि हुँदैन् ।

तर, यसले तपाईहरुलाई घाटा लाग्छ नि । उहाँले भन्नुभएको छ–अब नेकपा एमालेलाई हामी एक सिट पनि जित्न दिँदैनौं भनेर ?

लागेर के भएको छ र ? उहाँ त जहिले पनि यसमै लाग्नुभएको थियो नि ।

अगामी निर्वाचनमा गठबन्धनले तपाईंहरुबिरुद्ध साझा उम्मेद्वारी तयार गर्ने रे ? तपाईँहरुको के छ तयारी ?

त्यो त नेपाली जनताले राम्रोसँग हेर्ने हो । माधवकुमार नेपालले के गरेका छन्, प्रचण्डले के गरेका छन्, शेरबहादुरजीले के गरेका छन्, केपी शर्मा आलीले के गरेका छन् ? यो कुरा त जनताले हेर्ने कुरा हो । हामी नेपाली जनताको सबैभन्दा लोकतान्त्रिक पार्टीको रुपमा स्थापित रहेका छौं । जनतामाँझ हामी लोकप्रिय रहेका छौं । त्यहीभएर सबैजनालाई डाहा भएको छ । धरै मान्छेहरुले हाम्रो विरुद्धमा चलखेल गरेका छन् । त्यसैको परिणामस्वरुप अहिले गठबन्धन बनेको छ । त्यसलाई पराजित गर्नु नै हाम्रो मुख्य काम हो । एकातिर जनताको पक्षधर नेकपा (एमाले) रहेको छ भने अर्कोतिर विदेशी शक्तिको इशारामा चल्ने शक्तिहरु रहेका छन् । त्यो शक्तिहरुलाई पराजित गर्न अथवा उनीहरुसँग लड्न हामी स्पष्ट हुनुपर्ने आवस्यकता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot