Logo

संयुक्त राष्ट्रवादी देशभक्त गठबन्धनद्वारा संविधान खारेजीको माग गर्दै भोलिदेखि अनिश्चित्कालिन आन्दोलनको घोषणा (भिडिओसहित)



काठमाडौं, २८ कात्तिक । संयुक्त राष्ट्रवादी देशभक्त गठबन्धनले २०७२ को संविधान खारेज गरेर तत्काल २०४७ सालको संविधान लागु गर्न माग गर्दै भोलिबाट अनिश्चित्कालिन आन्दोलनको घोषणा गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गठबन्धनले सोमबारदेखि राजा र प्रजा मिलेर बनाएको २०४७ सालको संविधानको कार्यान्वयन माग गर्दै आन्दोलनको घोषणा गरेको हो ।

गठबन्धनका संयोजक हेमविक्रम सिलवालले भोलिदेखि निरन्तर दैनिक रुपमा अनिश्च्किालिन आन्दोलन गर्न लागेको जानकारी दिए । उनले २०६५ सालदेखि नेपालमा स्थायित्व दिन नसकेर राजनीतिक दलहरु असफल भएको आरोप लगाए । सिलवालले अहिलेसम्म भएका आन्दोलन पुरुषको नेतृत्वमा भएको भन्दै उनले अब नयाँ तरिकाले आन्दोलन गर्ने बताए । आन्दोलनको नेतृत्व बर्दियाका शारदा शाहीले गर्नेसमेत सिलवालले जानकारी दिए । हिन्दुराष्ट्र कायम राख्न र राजसंस्था स्थापना गर्न आन्दोलनको उद्देश्य हुने उनको भनाई थियो ।

राजनीतिक दलहलहरुले अंसंवैधानिक कार्य गरेको समेत आरोप लगाउदै उनले ०६३ सालमा गरेको सहमतिअनुसार दलले धोका दिएको बताए । उनले भने,‘२०४७ सालको संविधानअनुसार गरेको काग्रेसका नेता गिरिजाप्रसाद कोइराला र तत्कालिन् एमालेका नेता माधवकुमार नेपालले संसद् विघटनको माग गर्दै रिट हालेपछि पुनःस्थापित गरिएको संसद्ले राजा र धर्मलाई फालेको हो ।’

अहिले सर्वोच्च अदालतमा भएको घट्नालाई उनले रत्यौलीको संज्ञा दिए । उनले सर्वोच्चको गेटमा न्याय माग्न जाँदा जनतालाई महेन्द्र पुलिस क्लबमा लगेर थुनेको टिप्पणी गरे । नेपाली सेना र नेपाली नागरिकले मात्र अब देश बचाउने उनको भनाई थियो । उनले नागरिक आन्दोलनको अब विकल्प नभएको भन्दै यो आन्दोलन अनिश्चित्कालिन भएकोसमेत जानकारी दिए । उनले भने,‘यो आन्दोलन जबसम्म रहन्छ, तबसम्म यो संविधान च्यातेर २०४७ सालको संविधान जारी गरिदैन् । हिजो धर्म फालियो, राजा फालियो अब न्याय हातमा लिईँदैछ ।’ कार्यक्रमको कार्यपत्रहरु मातृशक्ति शारदा शाहीले पढेर सुनाएकी थिइन् ।

कार्यक्रममा प्राध्यापक डा. सुरेन्द्र केसीले २०४७ सालको संविधानलाई फाल्नलाई यो संविधान ल्याएको बताए । उनले ०६३ सालको अन्तरिम संविधानमा संविधानसभाको परिकल्पना गरिएको बताए । उनले त्यसको आधारमा आजको व्यवस्था ल्याइएको समेत जिकिर गर्दै भने,‘यही संविधानले गर्ने भए अर्को संविधान किन चाहिन्थ्यो र, के रोग लागेको छ त्यसमा ध्यान दिन जरुरी छ । आज कुन रोगको कारण अदालतमा त्यस्तो अवस्था उत्पन्न भएको छ ।’ कुनै कुराको पनि यथार्थ कुरा थाहा नपाई बोल्न नहुने भन्दै कालाकोटेहरुले पनि सत्यता नबुझेकोप्रति व्यँग्य गरे । उनले भने–‘०४७ को संविधानले गणतन्त्र ल्याएको होइन् ।’

उनले आजको अवस्था किन आयो त्यसको जरो पत्ता लागेर अगाडि बढ्नुपर्ने बताए । उनले देश पृथ्वीनारायण शाहले मुस्किलले बनाएको भन्दै अझैपनि हुम्ला÷जुम्लामा शाह वंशी राजाले बनाएको सिस्टमबाट चलिरहेको सुनाए । उनले राजापक्षका व्यक्तिहरुलाई के काम गरेर राजालाई हटाइए भनेर सोध्न चाहेर पनि सोध्ने अवसर नमिलेको सुनाए । उनले भने,‘राजालाई जनताले हटाउन नचाहेपनि हटाइयो ।’

डा. केसीले १२ बुंदेमा राजतन्त्रको अन्त्यको कुरा नभएर निरंकुशको अन्त्य मात्र उल्लेख भएको बताए । उनले माधव नेपालको राजतन्त्र फाल्नुमा मुख्य हात रहेको भन्दै भने, ‘माधव नेपालले जनमतबाट मात्र राजसंस्था राख्न सकिने भनेका थिए, नेपाललाई सम्भवत राजाले सबैभन्दा धेरै अवहेलना गरेका थिए ।’ सबैभन्दा पहिला रोग के हो त्यसको पहिचान गर्नुपर्नेमा उनले जोड दिए ।

उनले अहिले विवादमा आएका यी सबै राजनीतिक दलहरु फेरी एकै ठाउँमा आउने बताए । राजाले बनाएको देश नेपाल भन्दै उनले भने,‘यो देश हामीले बनाएको हैन् राजाले बनाएको हो ।’ केसीले सबै आंकलन गरेर मात्र आन्दोलन गर्नसमेत संयुक्त राष्ट्रवादी देशभक्त गठबन्धनलाई आग्रह गरे । आन्दोलन गरेर बिचैमा छाड्ने खालको आन्दोलन नगर्न पनि उनले सुझाव दिए । उनले भने,‘आजका युवाहरुलाई कसरी जोडन सकिन्छ त्यसको बारेमा पनि सोचेर जतिसक्दो धेरै नागरिकलाई समेट्नेगरि आन्दोलन गर्नुहोस् ।’

वरिष्ठ पत्रकार प्रेम कैदीले राष्ट्रलाई आज बेचेर खाने अवस्थामा पुर्याउने प्रपञ्च भइहेको आरोप लगाए । उनले धेरै राष्ट्रहरु एक सय वर्षमा मासिएको पनि स्मरण गराए । भारतीय विस्तारवादीहरु नेपालाई स्वतन्त्र रुपमा मान्न तयार नभएको समेत उनको भनाई थियो । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड नेपाल भनेर भित्रभित्रै षड्यन्त्र गरिरहेको आरोप लगाउदै भने,‘मोदीले आज हिन्दुहरुलाई धोका दिएका छन् । भारत कुनै स्वतन्त्र र स्वाधिन देश होइन् । नेपाल भनेको एउटा स्वाधिन राष्ट्र हो ।’
प्रधानसेनापति प्रभुराम शर्मालाई देशप्रति केही माया नभएको भन्दै उनले भारतबाट सेनापतिले लिएको सम्मानले नेपालीहरुले अपमान महसुस गरिरहेको बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमार्फत आज अमेरिकी साम्राज्यवादको गुलामी गरिरहेको समेत आरोप लगाए ।

अब राष्ट्रको उत्थान र मर्यादाको लागि विद्रोह गर्नुपर्छ भन्दै उनले नेपालीहरुको हकहितको लागि जनता संर्घषमा उत्रने बेला आएको बताए । जनआन्दोलनलाई सबैले साथ दिनुपर्ने पनि उनले धारणा राखे । उनले भोलिदेखि जनविद्रोहको सुरुवात हुने उद्घोष गरे ।

कैदीले निर्मला पन्तलाई दलहरुको मतियारहरुले बलात्कार गरेको हुनाले दोषीलाई आजसम्म कारवाही गर्न नसकेको बताए । उनले नेपाली जनताले कर तिरेर पालेका नेताहरुले जनताको पक्षमा केही नगरेको आरोप लगाए । उनले भने,‘आज सिंहदरबार र सर्वोच्च अदातलमा भाँडभैलो भैरहेको छ ।’ विद्रोह गर्ने अधिकार जनतालाई भएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ओम्नी र यतिको दलालको आरोप लगाए ।

समाजसेवी प्रकाश रायमाझीले मुलुकको यथार्थ धरातललाई गम्भिर रुपमा बुझ्ने मानिसहरुको कमी भएको बताए । चर्को भाषण गर्नेहरु आज सेलाएर गएको भन्दै उनले मुलुकलाई निकास दिनसक्ने विद्धानहरु सबै चुप लागेर बसेको बताए । राजनीतिक दलहरु विदेशी शक्तिबाट ओतप्रोत भएको भन्दै उनले राजतन्त्रलाई सकाउन विभिन्न व्यवस्था ल्याईएकोसमेत आरोप लगाए । पछिल्लो समयमा नेपालको अर्थतन्त्रको क्षेत्रमा विदेशीले प्रभाव पारेको समेत बताए । उनले भने,‘नेपाललाई जोगाउन हो भने विधिको शासनमा हिँडेर मुलुकका जनतालाई कानुनी राज्यको प्रत्याभुत गराउनुपर्छ ।’

उनले राजतन्त्र फालेपछि देशको अवस्था डामाडोल भएको भन्दै उनले नेपाल नेपालीको देश भएको भन्दै बिश्व विद्यालयलाई आफु निकटका प्राध्यापक राख्नलाई पुरानालाई कालोमोसो लगाउँदा आज विश्वविद्यालयको अवस्था बिग्रिएको बताए ।

समाजसेवी शान्त चित्रकारले देश अत्यन्तै गम्भिर अवस्थामा गुज्रिरहेको टिप्पणी गरे । उनले ०६१÷६२ मा चर्को आन्दोलन गरेर ल्याएको ०७२ को संविधानले भ्रष्टाचारी, चोर, डाकाहरुलाई बचाउने भएकोले यो संविधान परिवर्तन गर्नुपर्र्ने धारणा राखे । उनले यो संविधानले देशमा विकृति र विसंगति ल्याएको भन्दै समस्या हटाउनको लागि हटाउन आन्दोलन गर्न लागेको जिकिर गरे ।

उनले कुनैपनि राजनीतिक दलहरुलाई देशको माया नभएको र ती दललाई आफु र आफ्नो कार्यकर्ताको मायामात्र भएको समेत आरोप लगाए । उनले भने,‘सबैजना चप्पल लगाएर आएकाहरु आफ्नो घर बनाउनमा मात्र ब्यस्त भए ।’

अधिवक्ता भूमिनन्द चुँडालले संसद् अहिले असफल भइरहेको बताए । सभामुखले अहिले आफ्नो पार्टीको पक्षमा काम गर्ने र विपक्षको कुरा नसुनेको अवस्था भएको उनको भनाई थियो । अदालतमा जबरजस्ती दबाब दिएर बारको शक्तिलाई दुरुपयोग गरेर असंवैधानिक कदमबाट प्रधानन्यायाधीशलाई हटाउन खोजेको आरोप लगाए ।

उनले न्यायालयमा राजनीतिक कारणबाट यो अवस्था आएको पनि बताए । उनले सिस्टम परिवर्तन गर्नुपर्नेमा जोड दिए । अहिलेको व्यवस्थाले गर्दा नै देशमा विभिन्न समस्या आएको समेत बताए । गणतन्त्र नै २०४७ सालको संविधानलाई आधार मानेकोे समेत जिकिर गरे । ०४७ संविधान नै अहिलेसम्मकै उत्कृष्ट भएको उनको भनाई थियो । नेतृत्वको असक्षमताको कारण देश डामाडोल अवस्थामा पुगेको समेत उनले आरोप लगाए । उनले भने,‘शान्तिको देशलाई उखालेर पछिल्लो व्यवस्थाले काम गरी खाने समेत अवस्था छैन् । अब सबै परिवर्तनको पक्षमा छन् परिवर्तनको पक्षमा उर्लिएको जनलहरलाई कसैले रोक्न सक्दैन । देशमा स्थायित्व र शान्तिको लागि जनमत गर्नुपर्छ ।’

समाजसेवी घनश्याम भण्डारीले प्राण जाला तर भ्रष्टाचारीको विरुद्धमा आफु लाग्ने घोषणा गरे। उनले भोलिदेखि अनिश्चितकालिन आन्दोलन गर्ने लागेको जानकारी दिए । राजा भएको देशमा प्रजा हुन्छन् भन्दै उनले राजा भएको देशमा कहिल्यै बन्द नहुने पनि उनले जिकिर गरे । उनले उदारवादी अर्थतन्त्रबाट मात्र मुलुक अगाडी बढाउन सकिने बताए । उनले भने,‘संसाारमा नेपाललाई आतंकबादीको मुलुक भनेर चिनाए तर, जनतालाई प्रयोग गरेर आफुहरु सत्तामा पुगे, त्यत्ति नै हो यी दलको उपलब्धी ।’

कार्यक्रममा विक्रम झाले देश अभिवाहक नभएको घरजस्तो भएको बताए । अहिले देश रोगी भएको छ भन्दै उनले नेपालमा कसरी शान्त होला भनेर सबै जना चिन्तीत रहेको बताए । उनले भने,‘यो अवस्थालाई अन्त्य गर्नको लागि राजा ल्याउनुपर्छ । सबैजना सडक आन्दोलनमा जाउँ ।’

गजेन्द्र बहादुरले देशभक्त, राजाभक्त र धर्मभक्तहरुले गर्न लागेको आन्दोलनमा सबैले साथ दिन आग्रह गरे । उनले आवश्यक पर्दा परिमार्जनसहित २०४७ सालको संविधान पूनःस्थापना गर्न चाहेको पनि बताए ।

 



प्रतिक्रिया दिनुहोस्