Logo

लिबियाको राष्ट्रपतिको दौडमा रहेका गद्दाफी को हुन् ?



एजेन्सी, २८ कात्तिक । लिबियामा अपदस्थ गरी मारिएका पूर्व राष्ट्रपति मोहम्मर गद्दाफीका छोरा सेफ अल इस्लाम गद्दाफी राष्ट्रपतिको दौडमा उत्रिएका छन् । बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्सबाट विद्यावारिधी गरेका उनले राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरेको लिबियाको निर्वाचन आयोगले जनाएको छ ।

इस्लाम गद्दाफीले सबै कानुनी प्रक्रिया पूरा गरिसकेको उल्लेख छ । उनी ४९ वर्षका भए । मोहम्मर गद्दाफीको दोस्रो पत्नीतर्फका छोरा हुन् । गद्दाफीका छोरामध्ये उनी माहिला हुन् ।

गद्दाफीको शासनकालमा मुख्य टिममा रहेर जनसम्पर्क र कुटनीतिक सम्बन्धमा भूमिका खेलेका थिए । बाबु गद्दाफीपछि उनी नै शक्तिशाली थिए । कतिपयले अघोषित प्रधानमन्त्री भन्थे ।

इस्लाम गद्दाफी दक्षिणी लिबियामा जिन्टन सशस्त्र समूहबाट पक्राऊ परेका थिए । तर, लिबियाको गृहयुद्धको अन्तिमतिर जिन्टानमा भागेका थिए । सन् २०१५ मा उनलाई युद्धअपराधका लागि फाँसीको सजाय सुनाइएको थियो । जेलमा राखिए । पछि उनलाई आममाफी दिएर छुटाइयो ।

इस्लाम गद्दाफी लण्डनमा पढेका थिए । उनले अष्ट्रियाको भियनाबाट एमबीएको अध्ययन पूरा गरेका थिए । लण्डन स्कुल अफ इकोनोमिस्कबाट उनले पिएचडी गरे ।

लिबियामा पहिलोपटक प्रत्यक्ष राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् २०११ मा भएको विद्रोहबाट गद्दाफी अपदस्थ भई मारिएका थिए । त्यसपछि लिबिया द्वन्द्वमा फसेको थियो ।



प्रतिक्रिया दिनुहोस्