Logo

भारतीय दूतावासद्वारा पुनर्निर्माणसम्बन्धी कार्यशाला आयोजना



काठमाडौं, २९ कार्तिक । नेपालका गोरखा र नुवाकोट जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा ५० हजार घरको पुनर्निर्माण सम्बन्धी समापन समारोह तथा परियोजनाबाट सिकेका पाठ/अनुभवबारे कार्यशाला आयोजना गरिएको छ । नेपालका गोरखा र नुवाकोट जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा ५०,००० घरको पुनर्निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको उपलक्ष्यमा भारतीय राजदूतावासले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, युएनडिपी र युएनओपिएससँग सहकार्य गर्दै काठमाडौंमा कार्यशालाको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, गोरखाको पालुङटार नगरपालिकाका मेयर, नुवाकोटको विदुर नगरपालिकाका उपमेयर, एनडिआरआरएमएका प्रतिनिधि, नेपाल सरकारका विविध निकायहरु, युएनडिपी, युएनओपिएस, ईयु, युएसएआइडि, वल्र्ड बैंक, एडिबि, जाइका, एफएनसिडिओ तथा सम्बन्धित नगरपालिका/गाउँपालिकाको उपस्थिति रहेको दूतावासले जनाएको छ ।

कार्यक्रममा डिसिएम खम्पाले भारत सरकारले प्रतिबद्घता जनाएअनुरुप ५० हजार निजी घरहरुको पुनर्निर्माण कार्य नेपाल सरकारले अपनाएको घरधनीलक्षित पुनर्निर्माण पद्घतिअनुसार सम्पन्न भएको जानकारी गराईन् । गोरखा र नुवाकोट जिल्लाका चार नगरपालिका र चौध गाउँपालिकाका भूकम्प प्रभावित लाभग्राहीलाई सामाजिक–प्राविधिक सहजीकरण तथा परामर्श सेवा उपलब्ध गराउन हेतु सन् २०१८ मार्चमा भारत सरकारले युएनडिपी र युएनओपिएसलाई यस परियोजनामा संलग्न गराएको थियो ।

१०० मिलियन अमेरिकी डलर अनुदान र चौथो लाइन अफ क्रेडिट अन्तर्गतको ५० मिलियन अमेरिकी डलर सहित ५०,००० घरको पुनर्निर्माणका लागि आर्थिक र प्राविधिक सहयोग प्रदान गर्न आवास क्षेत्रमा भूकम्पपछिको सहायता प्याकेजको रुपमा भारत सरकारले १५० मिलियन अमेरिकी डलरको प्रतिबद्घता जनाएको थियो ।

सोही कार्यक्रममा परियोजनाबाट सिकेका पाठ÷अनुभव र आगामी दिनबारे एक कार्यशालाको आयोजना गरिएको थियो । निजी आवास पुनर्निर्माण परियोजनालाई प्रभावकारिढङ्गले सफलतापूर्वक सम्पन्न गर्न स्थानीय सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निकायहरूले खेलेको निर्णायक भूमिकालाई कदर गर्न हेतु परियोजनासँग सम्बन्धित प्रमुख सरोकारवालालाई एकैसाथ ल्याउने कार्यशालाको उद्दश्य रहेको थियो । कार्यशालाले उत्कृष्ट अभ्यासहरूबारे जानकारी दिनुका साथै परियोजनाबाट सिकेका मुख्य सिकाइहरू सहभागीहरु समक्ष साटासाट गरेको थियो । साथै कार्यशालाले स्थानीय सरकारलाई मार्गदर्शन र भविष्यमा उपयोगी हुनसक्ने परियोजनाको प्रभावकारिताको बारेमा सामूहिक रूपमा छलफल गरेको थियो ।

२०७२ सालको भूकम्पबाट प्रभावित नेपालका कूल ११ जिल्लामा ७१ वटा शिक्षाको क्षेत्रसँग सम्बन्धित परियोजना, १३२ वटा स्वास्थ्य भवन तथा २८ वटा सांस्कृतिक सम्पदा स्थलको पुनस्र्थापना÷प्रबलीकरणका लागि भारत सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर काम गरिरहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्