Logo

शेरबहादुरजीले मलाई अगाडि सार्नुभयो भने विमलेन्द्रजीले पनि साथ दिन्छु भन्नुभएको छ : गोपालमान श्रेष्ठ (भिडिओसहित)



नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले १४औं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने बताएका छन् । उनले आफू सभापतिको उम्मेद्धवारीबाट ‘ब्याक’ नहुने पनि स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । त्यस्तै, उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफ्नो पार्टी नभएको पनि स्पष्ट पारे । तपाईहरु प्रधानन्यायाधीशविरुद्ध महाअभियोग ल्याएर प्रधानन्यायाधीशलाई हटाउने प्रक्रियामा जानुहुन्छ त भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने– ‘अहिले तत्काल त्यसो होला भन्ने मलाई लाग्दैन। यस विषयमा छलफल भएको छैन ।’ नेता श्रेष्ठसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली काँग्रेसको महाधिवेशन भव्य रुपमा गर्नका लागि तयारी थाल्नुभएको छ, अब नेपाली काँग्रेसमा नयाँ नेतृत्व आउँछ ?

हो, महाधिवेशन नेतृत्व चयन गर्नका लागि नै हुन लागेको हो ।

तपाईंहरुले किन विचार र नीतिको महाधिवेशन गर्न सक्नुभएन ?

समयले नभ्याएको हुनाले हो । नीतिको अधिवेशन आउने कार्यसमितिले तुरुन्त गर्नेछ ।

उसो भए अहिलेको महाधिवेशन नेतृत्वका लागि मात्र हो ?

हो, केन्द्रमा नेतृत्वको महाधिवेशन गर्ने हो । अन्यत्र चाहिँ प्रदेश/प्रदेशमा र जिल्ला-जिल्लामा गर्ने हो ।

नेतृत्वमा तपाईंले पनि दाबी गर्नुहुन्छ ?

हो, मैले पनि दाबी गर्छु ।

ब्याक हुनुभएको छैन ?

किन ब्याक हुने ? हाम्रो सल्लाह हुन बाँकी नै छ । मेरो चाहना पूरा हुन्छ भन्ने मलाई लागेको छ ।

शेरबहादुर देउवा र तपाईंको बीचमा कुरा मिल्छ ?

हामीहरुको बीचमा पनि कुरा हुन्छ । सबै साथीहरुको बीचमा कुरा हुन्छ । सकेसम्म सहमति नै गर्न कोशिस गर्ने हो ।

तर, तपाईंलाई शेरबहादुर देउवाले विश्वास गर्नुहोला ?

गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । शेरबहादुरजीले मलाई अगाडि सार्नुभयो भने विमलेन्द्रजीले पनि मलाई साथ दिन्छु भनेर भन्नुभएको छ ।

उसो भए, शेरबहादुर देउवालाई सभापति नबनाउने तपाईंहरु दुवैको रणनीति हो ?

शेरबहादुरजी सरकारको सफल नेतृत्व लिइरहनुहोस् भन्ने मेरो भावना रहेको छ । छिमेकीको पनि कहिलेकाहीँ अनुकरण गर्नुपर्छ मोदी टाइपबाट अगाडि बढ्नुहोस भन्ने मेरो आग्रह छ । उहाँले आफ्नो विश्वासपात्रलाई अगाडि सार्नुपर्यो । त्यो म हो अथवा को हो ? उहाँले नै भन्नुपर्यो । विगतमा उहाँलाई अप्ठ्यारो पर्दा काँध थाप्ने मान्छे चाहिँ मै हो ।

तपाईंले शेरबहादुर देउवालाई ठुलो गुण लगाउनुभएको छ, अब उहाँले तपाईंमाथि गुण लगाउनु होला त ?

मैले उहाँलाई मात्र होइन, पार्टीलाई पनि गुण लगाएको छु । गुण लगाउने अथवा नलगाउने भन्ने कुरा उहाँको कुरा हो । तर, लगाउनुहुन्छ भन्ने मलाई विश्वास छ । गोपालमानजी मैले छोड्दा तपाईंलाई नै जिम्मा दिने हो भनेर उहाँले वान टुु वान भेटमा भन्नुभएको छ । मैले पनि उहाँलाई हामी तीन जना बसेर सहमति गरौं, त्यसपछि अन्य साथीहरुसँग पनि सहमति गरेर सकेसम्म सर्वसम्मत रुपमै नेतृत्व चयन गरौं भनेर भनेको छु ।

तपाईंले कुरा राख्नुभयो तर, उहाँहरुले सुन्नुभएको छैन नि होइन ? विमलेन्द्र निधिले म उठ्छु भन्नुभएको छ ?

अब म चाहिँ समझदारीमा कुरा गर्नेमा छु । मेरो गोरुको बाह्रै टक्का भनेको छैन् । विमलेन्द्रजीसँग कुरा गर्नुपर्यो । बसेर शान्त तरिकासँग कुरा गरेर निश्कर्ष निकाल्नुपर्यो । अहिलेसम्म त्यो काम भएको छैन । बसेर छलफल गरौं भन्ने मेरो भनाइ हो । विमलेन्द्रजीले गोपालमानजी शेरबहादुर दाइले तपाईंलाई अगाडि सार्नुभयो भने म पनि साथ दिन्छु भन्नेर सबै साथीहरुको अगाडि भन्नुभएको छ ।

सातवटै प्रदेशको अधिवेशनका लागि तपाईंहरुलाई जिम्मेवारी दिइएको हो ?

हामीले सात वटा प्रदेशमा अधिवेशन गर्न लागेका छौं । यसको लागि केन्द्रीय नेताहरूलाई जिम्मवारी दिइएको छ । सात वटै प्रदेशमा प्रदेश अधिवेशन गर्दैछौं ।

न्यायालयभित्रको विवादमा तपाईंहरु किन मौन बस्नुभएको छ ?

होइन्, न्यायालयभित्रको कुरा हाम्रोबीचमा नचलेको होइन् । त्यसलाई सहजीकरण कसरी गर्न सकिन्छ ? न्यायालय धेरै अप्ठ्यारो अवस्थामा गएको छ । यस विषयमा पार्टीले के गर्ने भन्ने कुरा हो । संसदीय दलमा पनि यो कुरा उठ्नुपर्यो । तर, सकेसम्म यसको समाधान न्यायालयबाटै गर्नुपर्छ । यो विचलनले डेमोक्रेसीलाई कहाँ पुर्याउने हो भन्ने कुरा पनि भएको छ । यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा गम्भीर हुनुहुन्छ, यसको निकास छिटै निस्किन्छ भनेर उहाँले आश्वस्त पार्नुभएको छ ।

रामचन्द्र पौडेलले नेपाली काँग्रेसले तुरुन्त प्रधानन्यायाधीशविरुद्ध महाभियोगको प्रस्ताव ल्याउनुपर्छ भन्नुभएको छ, यस विषयमा तपाईं के भन्नुहुन्छ ?

रामचन्द्रजी अहिले जिम्मवार ठाउँमा हुनुहुन्छ । उहाँलाई पनि हामीले भनेका छौं । गठबन्धनमा पनि यस विषयमा कसरी अगाडि बढ्न सकिन्छ, त्यो गर्नुपर्यो भनेर हामीले उहाँलाई भनेका छौं ।

उच्चस्तरीय राजनीति समन्नय समितिमा रामचन्द्र पौडेल हुनुहुन्छ, त्यसको बैठक आज बस्दैछ, उहाँले यस विषयमा कुरा गर्छु भन्नुभएको छ । प्रधानन्यायाधीशलाई हटाउने कुरामा नेपाली काँग्रेसको सहमति छ ?

होइन्, हटाउने अथवा नहटाउने भन्ने कुरा त छलफलपछि थाहा होला । हटाएर समस्या समाधान हुने हो कि नहटाएर समाधान हुने हो, जसरी हुन्छ समस्याको समाधान हुनपर्याे । यस्तो अवस्थामा न्यायापालिकालाई राख्न भएन ।

प्रधानन्यायाधीशले म राजीनामा दिन्नँ, मलाई संवैधानिक रुपमा हटाओ भनेर भन्नुभएको छ नि ?

उहाँले भन्ने कुरा स्वाभाविक हो । यही कारण त समस्या आएको छ । उहाँले राजीनामा दिएको भए यो समस्या आउने नै थिएन ।

महाभियोगको प्रस्ताव ल्याउन गठबन्धनले मात्र पुग्दैन होइन ?

यो त अन्तिम अस्त्र हो । यसलाई तथानाम प्रयोग गर्नुहुँदैन। यसको प्रयोग नगरेरै समस्याको समाधान निस्किन्छ भने त्यसको खोजी गर्नुपर्छ ।

उसो भए नेपाली काँग्रेसले प्रधानन्यायाधीशविरुद्ध तत्काल महाभियोगको प्रस्ताव ल्याउँदैन ?

यो कुरा नेपाली काँग्रेसले मात्र चाहेर हुँदैन । गठबन्धनले चाहेर पनि हुदैन । एमाले पनि तयार हुनपर्यो । उसले पनि सोच्नुपर्यो ।

केपी शर्मा ओलीले त पाँचै जनालाई हटाउनुपर्छ भनेर भनिसक्नुभयो नि ?

उहाँले हचुवा किसिमले त्यसरी पाँचै जना भन्न मिल्दैन नि । अहिले पाँचै जनामाथि प्रश्न उठेको छ र ? त्यसरी भन्न मिल्दैन ।

शेरबहादुर देउवाले यस विषयमा तपाईंहरुलाई नबोल्न भन्नुभएको हो ?

होइन, जथाभाबी त किन बोल्नुपर्यो त ? बोल्ने कुराहरु बोल्ने हो, नबोल्ने कुरा बोल्नु पनि हुँदैन।

तपाईहरु प्रधानन्यायाधीशविरुद्ध महाअभियोग ल्याएर प्रधानन्यायाधीशलाई हटाउने प्रक्रियामा जानुहुन्छ ?

अहिले तत्काल त्यसो होला भन्ने मलाई लाग्दैन् । यस विषयमा छलफल भएको छैन् ।

मूल्यवृद्धि आकाशिएको छ, जनता पीडामा छन् । तपाईंहरुले जनतालाई हेर्नुपर्दैन ?

हजुर यो मूल्यवृद्धि असाध्य अस्वाभाविक भएको छ । यसरी बढाउनु हुने थिएन। नेपाल सरकारले धरै कर थुपारेको छ । मूल्यवृद्धि फिर्ता लिनुपर्छ भन्ने नेपाल सरकारसँग मेरो आग्रह छ । नेपाली जनताको ढाड सेक्ने काम भएको छ । यसो गर्नुहुँदैन । नेपाली काँग्रेस पार्टी मुल्यवृद्धिको समर्थन गर्न सक्दैन ।

 



प्रतिक्रिया दिनुहोस्