Logo

कांग्रेस अधिवेशन : क्षेत्रीय सभापतिका दाबेदारसहित गाउँपालिका उपप्रमुख वडामै पराजित



नेपालगञ्ज, २९ कात्तिक : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आइतबार भएको वडा अधिवेशनको निर्वाचनमा पालिकाका जनप्रतिनिधिदेखि उम्मेदवार घोषणा गरेका व्यक्ति नै वडा तहबाटै पराजित भएका छन् ।

कांग्रेसको निर्वाचन समिति बाँकेले दिएको जानकारीअनुसार बाँके निर्वाचन क्षेत्र नम्वर १ को क्षेत्रीय सभापतिमा दाबेदारी प्रस्तुत गरेका डिल्ली गिरी वडामै पराजित भएका छन् । उनी बहालवाला क्षेत्रीय समितिको सचिव थिए । साथै उनी संस्थापनइतरका बलियो उम्मेदवार मानिएका थिए । उनी वडा-२ बाट पराजित भएका हुन् । सो वडाबाट पार्टीका जिल्ला सचिव तप्त पौडेल र जिल्ला सदस्य पवन शाहसहित १९ जना निर्वाचित हुँदा गिरी १९ जनाभित्र पर्न सकेनन् ।

यसैगरी, राप्तीसोनारी गाउँपालिकाकी उपप्रमुखसमेत रहेकी धनीकुमारी खत्री पनि वडामै पराजित भएकी छिन् । उपप्रमुख खत्री संस्थापन समूहकी हुन् । बाँकेमा वडामै पराजित हुने जनप्रतिनिधिमा खत्री पहिलो हुन् । यसअघि संस्थापनइतरमा रहेकी उपप्रमुख खत्री केही समयअघि संस्थापन समूहमा गएकी हुन् ।

उपप्रमुख खत्रीले वडा-८ बाट क्षेत्रीय प्रतिनिधि पदमा उम्मेदवारी दिएकी थिइन् । राप्तीसोनारी गाउँपालिका-८ मा संस्थापनइतर समूहले वडा कार्यसमितिसहित क्षेत्रीय प्रतिनिधिमा पुरै प्यानल कब्जा गर्दा उपप्रमुख खत्री वडामै पराजित भएकी हुन् । न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्