Logo

प्रधानन्यायाधीश जबराको पक्षमा देखिँदै बहुमत न्यायाधीश



काठमाडौं, २९ कात्तिक । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै इजलास बहिष्कार गर्दै आएका छन् । निरन्तर इजलास बहिष्कार गर्दा न्यायाधीशहरुको आलोचना बढ्न थालेको छ । यसप्रति गम्भीर हुँदै केही न्यायाधीशहरु इजलासमा फर्कने भएका छन् ।

आज नेपाल बार एशोशिएसनले सर्वोच्चका न्यायाधीशहरुसँग सामूहिक छलफल गरेकोमा ६ जना न्यायाधीश अनुपस्थित भए । जसमध्ये न्यायाधीश इश्वरीप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् ।

नयायाधीशहरु तेजकुमार केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल बारसँगको छलफलमा अनुपस्थित भए । उनीहरुको अनुपस्थिति अर्थपूर्ण छ । पाँचजना न्यायाधीशहरु इजलास बहिष्कारको निरन्तरताको विपक्षमा देखिएका छन् ।

प्रधानन्यायाधीशले वार्ताको आव्हान गर्दा पनि बारले राजीनामाको अडान लिएपछि अधिकांश न्यायाधीशहरु गम्भीर भएका छन् । उनीहरु वार्ताबाट समस्याको समाधान निकाल्नुपर्ने सुझावहरु अनौपचारिक रुपमा दिएको बुझिएको छ ।

निरन्तरको इजलास बहिष्कारको विपक्षमा न्यायाधीशहरु अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, हरि फुयाल, नहकुल सुवेदीलगायत रहेको बुझिएको छ । सर्वोच्च अदालतमा इजलासमा विस्तारै न्यायाधीशहरु फर्कने र प्रधानन्यायाधीशको पक्षमा बहुमत न्यायाधीशहरु देखिने सम्भावना बढेर गएको छ ।

सर्वोच्चमा प्रधानन्यायाधीशसहित २० न्यायाधीश छन् । जसमध्ये बहुमत प्रधानन्यायाधीश जबराको विपक्षमा देखिएका छन् । तर, भित्री रुपमा विस्तारै प्रधानन्यायाधीशको पक्षमा जाने गरी माहोल तयार भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्