Logo

प्रधानन्यायाधीश जबराको विज्ञप्ति मिडिया खपतको लागि आएको हो, वार्ता हुने सम्भावना छैन: डा. सुरेन्द्र महतो (भिडिओसहित)



काठमाडौं, २९ कार्तिक । वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व उपाध्यक्ष डा. सुरेन्द्र महतोले प्रधानन्यायाधीश जबराले बोलाएको वार्तामा आफूहरु सहभागी नहुने स्पष्ट पारेका छन् । उनले भने– ‘परिवारका व्यक्तिलाई बोलाउनको लागि प्रेस वक्तव्य जारी गर्नुपर्छ ? हामी त एउटै घरमा बस्छौं । उहाँले हामीलाई सम्बोधन गरेर बोालउनुभएको छैन् । यो मिडिया खपतको लागि वक्तव्य आएको हो । वार्ता हुने सम्भावना छैन् । मार्गप्रशस्त गर्न तयार छु भनेर उहाँले पत्राचार गरेको भए हुन्थ्यो, तर नेपाल बारलाई उहाँले कुनै सम्बोधन गर्नुभएको छैन् । बारले यो वार्तामा नबस्ने भनिसकेको छ ।’

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले बारको आन्दोलनका कारण सेवाग्राही पीडित हुनु स्वभाविक भएको सुनाए । तर, आफुहरुले बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न भनेको पनि सुनाए । उनले भने,‘१९ जना न्यायाधीशलाई त हामीले नै अनुरोध गरेका छौं कि बन्दी प्रत्यक्षीकरणलगायतका मुद्दा हेर्नुपर्छ भनेर । र, उहाँहरुलाई हामीले प्रधानन्यायाधीश जबराको नेतृत्व अवज्ञा गर्नुहोस भनेका छौं । अहिले सेवाग्राहीको हितमा यो आन्दोलन छ । यो आन्दोलन भनेको साझा हो ।’

नेपालको न्यायापालिकामा अहिले असहज परिस्थिति आएको महतोको भनाई थियो । उनले भने,‘यो परिस्थिति निम्तिँदा राष्ट्रव्यापी रुपमा छलफल भैरहेको छ । प्रधानन्यायाधीश जबराको राजीनामाको लागि बार एकमत छ । आन्दोलनका कार्यक्रमपनि त्यहीअनुसार आएको हो । न्यायापालिका सही ढंगले चलिरहेको छ भनेर कतैबाट पनि कुरा आएको छैन् । प्रधानन्यायाधीश जबराको बहिगर्मनले मात्रै यो समस्याको समाधान हुँदैन् । सडकमा आएकाहरुले पनि स्तुतिगान गाएका छैनन् । अदालतमा भ्रष्टाचार, सेटिङ, राजनीतिक हस्तक्षेप, साँठगाँठले चरमोत्कर्ष रुप लियो । प्रधानन्यायाधीशजस्तो व्यक्ति भागबण्डामा उत्रिनुभयो, यसले न्यायापालिकाको स्वतन्त्रता समाप्त भयो । यो निश्कर्ष पहिलोपटक पूर्व न्यायाधीश समाजले निकाल्यो । न्यायापालिकामा विकृति, विसंगति छ भनेर उहाँहरुले भन्नुभयो । यो त्यसमा चुर्लुम्म डुबेको छ । अहिलेको नेतृत्वले यसको जिम्मोवरी लिनुपर्छ । उहाँले मार्गप्रशस्त गर्नुपर्छ भनेर उहाँहरुले भन्नुभएको छ ।’

उनले प्रधानन्यायाधीश जबराबाहेक सबै न्यायाधीशहरु विद्रोहमा रहेको सुनाए । उनले भने,‘प्रधानन्यायाधीशले राजीनामा नै दिनुपर्छ, यो नै विकल्प हो भनेर माग गरेको हो । कालोपट्टी बाँधेर विरोधको कार्यक्रम गरेको हो । बार भनेको संविधानमा उल्लेखित कुरा हो । बारले त शान्तिपूर्ण आन्दोलन गरेको छ । तर, प्रदर्शनमा सशस्त्र प्रहकरीको हस्तक्षेप भयो । उहाँले आफ्नौ परिवारका वकिलहरुलाई कुट्नपिट्न लगाउनुभयो । वकिलले न कुनै हतियार उठाएको छ, तर प्रधानन्यायाधीशले सर्वोच्चको परिसरलाई रणक्षेत्र बनाउनुभयो । आफ्ना केही व्यक्तिहरुलाइृ परिचालन गरेर सडकमा केही मान्छे उतारे, भिजिलान्तेहरु सडकमा देखिए ।’

उनले नेपाल बारलाई कमजोर नआँक्नसमेत चेतावनी दिएका छन् । उनले भने–‘नेपालको इतिहासमा हरेक परिवर्तनमा बारले महत्वपूर्ण भूमिका खेलेको छ। बारको विरूद्धमा कसैले पनि आवाज उठाएको छैन् । न्यायापालिकाले पनि मार्ग छोड्यो भने त्यसलाई सही ट्रयाकमा ल्याउने काम बारले गर्छ । प्रधानन्यायाधीशले यी सबै कुरा स्वयम सडकमा छताछुलल गर्नुभयो । आज दिनका दिन भिजिलान्तेहरु सर्वोच्चको गेटमा आएर प्रदर्शन गरेका छन् । उहाँको बहिर्गमनले मात्रै समस्या समाधान हुँदैन् । बारले मुलुकलाई सही ट्रयाकमा ल्याउने हो ।’



प्रतिक्रिया दिनुहोस्