Logo

प्रचण्डले वकिलहरूको काँधमा राखेर न्यायालयमा बन्दुक पड्काए, चोलेन्द्रले राजीनामा दिए न्यायालय सिद्धिन्छ: न्यौपाने



काठमाडौं, २९ कार्तिक । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको निर्देशन र षड्यन्त्रअनुसार अहिलेको गतिविधि भएको आरोप लगाएका छन् । उनले भने- ‘प्रचण्डले वकिलहरुको काँधमा राखेर न्यायालयमा बन्दुक पड्काए । पुष्पकमल दाहालको कब्जामा अदालत थिएन, त्यही भएर उनले अहिले अदालतमा बन्दुक पड्काए । नेपाललाई सिक्किम र अफ्गानिस्तान बनाउने योजनामा प्रचण्ड छन् । अब टालटुले काम नगरौं । कार्पेटमुनिको सबै फोहोर फालौं । नेपाली जनता अब सडकमा आउनुपर्छ । यसको विकल्प छैन ।’

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले नागरिकलाई चाहिने सबैभन्दा महत्त्वपूर्ण दुई निकायमा अदालत र अस्पताल भएको उल्लेख गरे । उने भने- ‘नागरिकलाई चाहिने यी दुई वटा कुरामा अहिले अदालतमा वितण्डा मच्चाइएको छ । हेर्नुहोस्, नागरिक जाने थलो भएकाले अदालतमा गार्ड राखिँदैन । खुल्ला इजलास हुन्छ। आफ्नो मुद्दा दर्ता गर्न पाउँछ । आजमात्रै १५–२० जना मान्छे नेपालका लागि नेपालीहरु सागर खड्काहरू थुनामा राखिएका छन् । प्रहरी प्रशासन लगाएर यातना दिएर पक्राउ गरेको छ । आन्दोलनकारी वकिलहरुको निर्देशनले थुनामा राखिएको छ । यसको म निन्दा गर्दछु ।’

उनले न्यायाधीशहरुले बेन्च बहिष्कार गर्नु यो व्यवस्थाको असफलताको पराकाष्ठा भएको पनि दाबी गरे । उनले भने- ‘अब नेपाल परिवर्तनको संघारमा पुगेको छ। नक्कली व्यवस्था, नक्कली प्रधानमन्त्री, नक्कली वकिलहरूको विरुद्धमा अब जनता आन्दोलित हुनुपर्छ । अदालतमा प्रचण्डका कार्यकर्ता छिरे । चोलेन्द्रशमशेरको राजीनामाको माग गरिएको छ, उता प्रचण्डले चितवनमा भाषण गरे– छिटो नागरिकता विधेयक आउँछ भनेर । चोलेन्द्रले राम्रो निर्णय गरेका छन। माधव नेपाल र बाबुरामलाई मुद्दा जिताउन सकिँदैन भनेको कारणले यो आन्दोलन सुरु भएको हो । हिजो लोकमानले क्यान्टोनमेन्टको फाइल खोल्न खोजेपछि उनलाई हटाइयो । हामी त भन्छौं- पञ्चायतकालदेखि अहिलेसम्म नेताहरुको सम्पत्ति छानबिन हुनुपर्छ । सेटिङ नमिलेपछि अदालतलाई बन्धक बनाउन पाइँदैन। यो व्यवस्था असफल भयो ।’

उनले वरिष्ठ अधिवक्ता शम्भु थापाले आफूले न्यायाधीशहरूलाई खुस खुवाएको भनेर सार्वजनिक कार्यक्रममै बोलेको उल्लेख गर्दै सोधे– ‘शम्भु थापाले को को न्यायाधीशलाई खुस खुवाए ? जम्मै कुरा भन्नुपर्छ । साँचो कुरा गरेको हो भने भन्नुहोस शम्भु थापाजी । दुनो सोझ्याउने काम गर्नुहुँदैन। प्रधानन्यायाधीशले राजीनामा दिए नेपालको स्वतन्त्र न्यायापालिका सिद्धिन्छ । भूमिगत गिरोहको नियन्त्रणमा अदालत जान्छ। रुलको होइन, हुलको शासन सुरु हुन्छ।’

उनले न्यायाधीश, वकिल र सबै मन्त्रीको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरे । उनले भने– ‘अब जनता उठ्नुपर्छ । म त भन्छु, नेपाल बार वार्तामा बस्नुहुँदैन। वार्तामा बस्नु भनेको फोहोर छोप्नु हो । यो वार्ता गर्ने भनेको आफ्नो दुनो सोझ्याउनु मात्रै हो । भोलि प्रधानन्यायाधीशले आन्दोलनकारी वकिलका सबै मुद्दा जिताइदिन्छु भन्देलान्, अनि समस्याको समाधान हुन्छ त ? यरोपियन युनियन र एनजिओका मान्छे अदालतमा छिरे । सबै छानबिन हुनुपर्छ । कल्याण श्रेष्ठ मानवअधिकार आयोगको अध्यक्ष नभएसम्म यो आन्दोलन चलिरहन्छ । प्रचण्डको अदालतलाई सिध्याउने योजनामा यी सबै भएको हो।’



प्रतिक्रिया दिनुहोस्