Logo

‘चोलेन्द्र शमशेर कमरेड ओलीको फोटोकपीबाहेक केही पनि होईन्, उहाँसँग विनोद चौधरीको भन्दा बढि पैसा छ भनेर चर्चा चलेको छ’ : डा. दिनेश त्रिपाठी



काठमाडौं, २९ कार्तिक । बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले केपी ओलीकै शैली अपनाएको आरोप लगाएका छन् । उनले भने,‘हिजो ओलीले पनि भिजेलान्ते प्रयोग गरेकै हो। अहिले ओलीकै शैली चोलेन्द्र शमशेर जबराले अपनाएका छन् । चोलेन्द्र शमशेर कमरेड ओलीको फोटोकपीबाहेक केही पनि होईन् । उहाँसँग रचनात्मक दिमाग छैन् ।’ उनले बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न ढिलो गरेको टिप्पणी गरे । उनले भने,‘जब उहाँ असंवैधानिक रुपमा बोलाईएको संवैधानिक परिषद्को बैठकमा जानुभयो, त्यतिबेला नै मैले उहाँको राजीनामा मागेको थिएँ । म त निरन्तर बोल्दै आएको छु । बारले आन्दोलनमा ढिलाई गर्यो, यो सत्य हो ।’

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले प्रधानन्यायाधीशले संवैधानिक प्रक्रियाबाट हटाउ भनेको उल्लेख गर्दै प्रधानन्यायाधीश जबरा भने संविधानतः असफल भैसकेको दाबी गरे । उनले भने–‘संविधानको धारा १३६ अनुसार उहाँ प्रभावकारी ढंगले कामकारबाही सञ्चालन गर्न पूर्ण रुपमा असफल हुनुभयो । उहाँ बेञ्च तोकनुहुन्छ, तर सहकर्मी न्यायाधीशहरु बहिष्कार गर्नुहुन्छ, उहाँ असक्षम भैसक्नुभयो । अब कुन संविधानअनुसार प्रधानन्यायधीश हुनुहुन्छ ? उहाँले आफ्नो संवैधानिक दायित्व पूरा गर्न सक्नुभएन । तपाईँलाई अब संविधानको धारा १३६ ले नै चिन्न छोडिसक्यो । तपाईँ यसैपनि पदमुक्त हुनुभयो । उहाँले सर्वोच्च अदालतमा प्रहरी परिचालन गर्नुभयो । भिजिलान्ते प्रयोग गर्नुभएको छ ।’

उनले अहिले प्रधानन्यायाधीश जबरासँग विनोद चौधरीको भन्दा बढि पैसा छ भनेर चर्चा चलेको पनि स्मरण गराए । उनले भने,‘यो कुरा सुन्दा हाम्रो कान नै अपवित्र हुन्छ । यो चर्चा चल्नु आँफैमा पनि प्रधानन्यायाधीश या कुनै पनि न्यायाधीशको पद विवाद भन्दा मुक्त हुनुपर्छ । यत्रो हाई भोल्टेज कन्ट्रोभर्सीमा परेपछि संसारमा कुनै पनि प्रधानन्याधीश पदमा बस्दैनन् । प्रधानन्यायाधीशले कार्यपालिकामा भाग खोज्ने, राजदूत र संवैधानिक निकायमा भाग खोज्छ र ? संविधान र विधिको शासनको रक्षक हुनुपर्ने होईन ? आम नागरिक जनताको शीर निहुरिएको छ। उहाँले त संस्थाको अपमान गर्नुभयो । मयर्दामाथि अपमान गर्नुभयो । अदालतमा प्रहरी र शक्ति प्रयोग गर्दै हुनुहुन्छ, यो अदालतको अवहेलना हो ।’

उनले प्रधानन्यायाधीश जबराले आफूमाथि लागेको आरोप फेश गर्ने क्षमता नभएर शक्तिको सहारा लिएको पनि आरोप लगाए । उनले भने,‘हिजो ज्ञानेन्द्रले पनि कु गरेका थिए, सेना परिचालन गरेका थिए । उनी समाप्त भए । त्यो बेलामा पनि प्रतिकार समिति बनाईएको थियो । हाम्रो आन्दोलन सत्य र नैतिकतामा आधारित छ । यसको नैतिक शक्ति छ । उहाँ त केपी ओलीकै मतियार हो । अहिलेको आन्दोलन सेवाग्राहीको लागि हो । न्यायालयमा न्याय किनबेच गरिनुहुँदैन्।’

उनले प्रधानन्यायाधीश जबराले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्नु नै अशोभनीय भएको सुनाए । उनले भने,‘यही आधारमा पनि उहाँले पदत्याग गर्नुपर्छ । पद त्याग गनुपर्ने एक हजार कारण छन् । उहाँ त हिजो संसद् विघटनको बेलामा पनि बेन्चमा अल्पमतमा पर्नुभयो । एक्सपोज हुनबाट रोक्नको लागि फरक मत राख्नुभएन । उहाँको चलेको भए दुवैपटक संसद् पूनःस्थापना हुँदैन थियो।’



प्रतिक्रिया दिनुहोस्