Logo

प्रधानन्यायाधीशविरुद्धको विद्रोह असफलतातर्फ, न्यायाधीशहरु धमाधम काममा फर्कदै



काठमाडौं, ३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोशिएसनलाई सहयोग पुग्ने गरी सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएकोमा नयाँ घटना विकास भएको छ । विद्रोही न्यायाधीशहरुमध्येबाट पाँच न्यायाधीश अलग भएका छन् ।

सर्वोच्चका न्यायाधीशमध्ये पाँचजना न्यायाधीश नियमित काममा फर्किने भएका छन् । न्यायाधीशहरु तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुँडाल इजलासमा बस्ने भएका हुन् ।

सर्वोच्चमा प्रधानन्यायाधीश र १९ न्यायाधीश छन् । काममा ५ जना फर्कने भएपछि विद्रोही समूहमा १४ जना छन् । उनीहरुमध्ये थप ६ जना पनि इजलासमा बस्नुपर्ने पक्षमा भएको बुझिएको छ ।

न्यायाधीशहरु काममा फर्कने भएपछि प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलन तुहिने अवस्था बनेको छ । तर, बार आन्दोलनबाट पछि नहट्ने अडानमा छ ।

बारलाई हिजो प्रधानन्यायधीश जबराले विज्ञप्तिमार्फत् वार्ताको आव्हान गरेका थिए । तर, बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले वार्तामा नबस्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्