Logo

एचआईभी सङ्क्रमित महिलाको निःशुल्क क्यान्सर परीक्षण



चितवन, ३० कात्तिक: एचआईभी एड्स सङ्क्रमित महिलाको पाठेघरको क्यान्सर निःशुल्क जाँच गर्न सुरु गरिएको छ । भरतपुर अस्पतालको प्रसूति विभागमा उक्त रोगको जाँच गर्न थालिएको हो ।
एचआईभी सङ्क्रमण पुष्टि भएका २१ वर्षभन्दा माथिका महिलाको पाठेघरको क्यान्सर परीक्षण निःशुल्क सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार एचआईभी भएका महिलामा पाठेघरको मुखमा क्यान्सर हुनसक्ने देखिएकाले यो परीक्षण सुरु गरिएको हो । एड्स हेल्थ केयर फाउण्डेसनका कार्यक्रम प्रमुख कृष्णहरि सापकोटाका अनुसार नौ सङ्क्रमित महिलाको निःशुल्क पाठेघरको क्यान्सरको परीक्षण गरिएको छ । गत महिनादेखि परीक्षण थालिएको हो । हालसम्म परीक्षण गरेका महिलामा क्यान्सरको कुनै समस्या देखिएको छैन । एचआईभी सङ्क्रमितलाई क्यान्सर रोग देखिन थालेसँगै यो सेवा सुरु गरिएको उहाँको भनाइ थियो ।

कार्यक्रम प्रमुख सापकोटाले भने,“क्यान्सर रोग देखिएमा थप उपचारका लागि सहयोग पुगोस् भनेर अस्पतालसँगको समन्वयमा यो सेवा सञ्चालनमा ल्याएका हौँ ।” सन् २०२१ यता जिल्लामा १०१ जना एचआईभी सङ्क्रमित थपिएका छन् । भरतपुर अस्पताल एआरटी क्लिनिकका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाका अनुसार सन् २००७ देखि २०२१ अक्टोबरसम्म दुई हजार २५ जनामा सङ्क्रमण देखिएको थियो ।

जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । नयाँ पहिचान भएका सङ्क्रमितलाई निःशुल्क एआरटी औषधि सुरु गरिएको छ । अस्पतालको एआरटी क्लिनिकबाट एक हजार २९ जनाले नियमित निःशुल्क औषधि खाइरहेका छन् । तीमध्ये ४९५ पुरुष, ४९० महिला र ४४ बालबालिका छन् । उहाँका अनुसार कोभिड सङ्क्रमण रोकथामका लागि लकडाउनको अवधिमा ४२८ जनाको घरमै पुगेर औषधि वितरण गरिएको र १३३ जनालाई खाद्यान्न समेत सहयोग गरिएको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्