Logo

प्रधानन्यायाधीश जबराविरुद्धको विद्रोह विफल



काठमाडौं, ३० कात्तिक । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको विद्रोह विफल भएको छ । विद्रोहमा उत्रिएका १९ न्यायाधीशमध्ये अधिकांश ब्याक भएपछि विद्रोह विफल भएको हो ।

सर्वोच्चमा आज ६ जना न्यायाधीश इजलासमा फर्किएका छन् । न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुँडाल, बमकुमार श्रेष्ठ र मनोज शर्मा इजलासमा फर्किएका हुन् । उनीहरुका लागि संयुक्त इजलास तोकिएको छ । जसको सुनुवाई चलेको छ ।

अनिल सिन्हा, हरि फुयाँल, नहकुल सुवेदीलगायत न्यायाधीश पनि इजलासमा फर्कनुपर्ने पक्षमा उभिएको बुझिएको छ । योसँगै विद्रोही न्यायाधीशहरु अल्पमतमा पर्ने निश्चित भएको छ । यसले सर्वोच्चमा प्रधानन्यायाधीश जबराविरुद्धको विद्रोह असफल भएको स्पष्ट देखिन्छ ।

जबराको राजीनामाको विषयमा नेपाल बार एशोशिएसन समेत विभाजित देखियो । कानुन व्यवसायीहरु विभाजित देखिए । जसका कारण राजीनामाको मुद्दा फितलो बन्दै गयो ।

महाभियोग लगाउन सक्ने संवैधानिक व्यवस्था भएपनि कुनैपनि दल जोखिम मोल्न तयार भएनन् । नेपाली काँग्रेस र नेकपा एमाले जबराविरुद्ध महाभियोगको विपक्षमा देखिए । जसका कारण भित्र भित्र महाभियोगको प्रयासमा लागेका दलहरु विफल भए । अन्तत जबरालाई हटाउने प्रयास विफल भयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot