Logo

भोलिबाट सर्वोच्च अदालत नियमित सुचारु हुने, ६ न्यायाधीश इजलास फर्किएपछि बारको आन्दोलन कमजोर



काठमाडौं, ३० कात्तिक । सर्वोच्च अदालत भोलिबाट नियमित प्रक्रियामा अघि बढ्ने भएको छ। बारको आन्दोलन र न्यायाधीशहरुको इजलास बहिष्कारले दुई सातादेखि सुनुवाई प्रभावित हुँदै आएकोमा आज ६ न्यायाधीशहरु इजलासमा फर्किएर मुद्दाको सुनुवाई गरेसँगै नेपाल बारको आन्दोलन पनि कमजोर हुने आँकलन गरिएको छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ । बारले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना कार्यक्रम आयोजना गरेको थियो ।

तर, आज न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, प्रकाश ढुंगाना, कुमार चुडाल, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा इजलास फर्किएपछि बारको आन्दोलन तुहिने विश्लेषण गरिएको छ । आज न्यायाधीशद्धय श्रेष्ठ र शर्माको इजलासले चारवटा मुद्दाको सुनुवाइ गरेर आदेश दिएको छ । त्यस्तै, तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले पनि मुद्दा सुनुवाइ गरेको छ ।

प्रकाश ढुंगाना र कुमार चुडालको इजलासले भने एउटा बन्दीप्रत्यक्षीकरणको मुद्दामा आदेश जारी गरेको छ । प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म बहस/पैरवीमा नजाने र आन्दोलन जारी राख्ने भन्दै आएको बारमा पनि वकिलहरु विभाजित छन् । बारकै पूर्व अध्यक्ष शेरबहादुर केसी आन्दोलनमा सहभागी छैनन् ।

उनले न्यायाधीशहरुले सुनुवाई बन्द गर्नु गलत भएको धारणा सुरुदेखि नै राख्दै आएका छन् । सार्वजनिक ठाउँमा उनले भन्ने गरेका छन्–‘हेर्नुहोस, हामी कस्तो अवस्थामा छौ भने न्यायाधीशहरुले इजलासमा सुनुवाइ गरे भन्ने पनि समाचार आयो भनेर चर्चा गर्ने अवस्थामा छौं।’ file photo



प्रतिक्रिया दिनुहोस्