Logo

जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको प्रवद्र्धनमा केन्द्रित भएका छौँ : प्रधानमन्त्री देउवा



काठमाडौँ, ३० कात्तिक: प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र प्रवद्र्धनमा सरकारले विशेष ध्यान केन्द्रित गरेको बताएका छन् । उनले भने, “जलवायु परिवर्तनको समस्या हामीले सिर्जना गरेको त होइन तर यसको मारमा हामी पनि परेका छौँ । त्यसको निराकरणका लागि स्वच्छ ऊर्जाको विकास नै अहिलेको आवश्यकता हो ।”

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को १९औँ र २०औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले जैविक इन्धनका कारण समस्या विकराल बन्दै गएको, बाढीपहिरो, बेमौसमी वर्षामा वृद्धि भएका कारण त्यसको मारमा नेपालसमेत परेकाले त्यसको निराकरणमा जुट्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले हिमाल नाङ्गै हुने अवस्था आएको र त्यसले ठूलो समस्या निम्त्याउने भएकाले समयमै सचेत हुनुपर्ने बताए ।

प्रधानमन्त्रीले हालै अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा समेत त्यस विषयले प्राथमिकता पाएको र नेपालले स्पष्ट ढङ्गले आफ्ना मत दर्ज गराएको उल्लेख गरे । प्रधानमन्त्रीले उत्पादित बिजुली देशभित्रै खपत गर्ने कार्ययोजनाका साथ सरकार अगाडि बढेको जानकारी दिए ।

उनले विद्युतीय सवारी साधनको प्रवद्र्धन, इन्डक्सन चुल्होको प्रयोगमा बढावा दिन पनि सरकारले विशेष कार्ययोजना बनाएर लागू गर्ने उल्लेख गरे । प्रधानमन्त्रीले भने, “आफ्नो देशको बिजुली नेपालमा नै खपत गर्नुपर्छ । त्यसका लागि सरकार अनुदान दिन तयार छ ।” प्रधानमन्त्रीले ऊर्जा क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने विश्वाससमेत दिलाए ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम