Logo

सिंह-कोइराला टकराव बढ्यो



काठमाडौं, १ मंसिर । नेपाली काँग्रेसभित्र महामन्त्री डा. सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच द्वन्द्व चर्किएको छ । सभापति शेरबहादुर देउवा इतर समूहका यी दुवै नेताबीच दूरी बढेको छ । दुवै सभापतिका आकांक्षी छन् ।

सिंहले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । कोइराला पनि सभापतिको दाबेदार छन् ।

एउटै समूहमा भएका दुई नेता एक अर्काविरुद्ध बोल्न थालेका छन् । सिंहले महामन्त्री सशांक कोइरालालाई आफूभन्दा जुनियर र पार्टीमा पनि लामो योगदान नभएको बताउने गरेका छन् । कोइरालाले सिंहलाई काठमाडौं उपत्यकामा मात्र सिमित भएको भन्ने गरेका छन् ।

आज कोइरालाहरुको गृहक्षेत्र विराटनगरमा सिंह पुगेका छन् । उनी विराटनगर पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।

सिंहले आफूमाथि काठमाडौंमा मात्र सिमित रहेको आरोप लागिरहँदा देश दौडाहालाई महत्व दिएका छन् । उनी पछिल्लो समय पूर्व देखि पश्चिमसम्मको दौडमा निस्किएका छन् । तराईका जिल्लाहरुमा पनि सिंहको सक्रियता देखिएको छ ।

काँग्रेसको राजनीतिमा कोइराला परिवार र सिंह परिवारको ठूलो योगदान छ । संस्थापक नेता वीपी कोइरालाका पुत्र सशांक र गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह अहिले मुख्य प्रतिष्पर्धीका रुपमा देखिदैछन् । दुवैमाथि विरासतको राजनीतिमा सिमित रहेको आरोप पनि लाग्ने गरेको छ ।

प्रकाशमान सिंह नेविसंघको राजनीति हुँदै, काठमाडौंको तल्लो इकाईबाट जिल्ला सभापति, केन्द्रीय सदस्यबाट उपसभापति, महामन्त्री सम्म भएका छन् । सशांक कोइराला क्रियाशील सदस्य हुँदै केन्द्रीय सदस्य अनि महामन्त्री भएका छन् । पार्टीमा जिम्मेवारी लिएर काम गरेको हिसाबले प्रकाशमान तल्लो इकाईबाट अगाडि बढेको देखिन्छ ।

देउवाइतर समूहमा यी दुई मुख्य प्रतिष्पर्धी देखिदैछन् । त्यसैले यी दुईमाथि एक अर्कामाथि कडा टिप्पणी सुरु हुन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्