Logo

एमाले १०औं महाधिवेशन : ओलीविरुद्ध अध्यक्षमा उम्मेद्धवारी दिने भीम रावलको घोषणा



काठमाडौं, २ मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशन यही मंसिर १० गतेदेखि मंसिर १२ गतेसम्म चितवनको सौरहामा हुँदैछ । महाधिवेशनको करिब करिब तयारी पूरा भएको छ । एमालेले महाधिवेशन भव्य रुपमा सफल पार्न राम्रो तयारी गरेको छ । पार्टीका प्रभावशाली नेताहरु चितवन पुग्ने क्रम जारी छ । यसपटकको महाधिवेशनमा करिब ५ करोड खर्च लाग्ने पनि अनुमान गरिएको छ । महाधिवेशनमा लाग्ने सम्पूर्ण खर्च पार्टीका नेता तथा कार्यकर्ताहरुबाट उठाईएको छ ।

१०औं महाधिवेशनको संघारमा रहेको एमालेले यसपटक सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने भनिरहेको छ । त्यसको सन्देश देशभरिबाट सहमतिमै महाधिवेशन प्रतिनिधि चयन गरेर दिईसकेको छ । तर, अध्यक्षमा यसपटक उपाध्यक्ष डा. भीमबहादुर रावल मैदानमा उत्रिने भएका छन् । यही मंगलबार महाधिवेशनलक्षित छलफलको लागि रावल अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित् निवास पुगेका थिए ।

रावलले अध्यक्ष ओलीसँग करिब २ घण्टा छलफल गरेका थिए । उक्त छलफलमा रावलले दश बुँदे सहमति कार्यान्वयनदेखि महाधिवेशन प्रतिनिधि छनौटबारे आफ्नो धारणा राखेका थिए । तर, ओलीले चित्तबुझ्दो जवाफ नदिएपछि उनी निराश भएर घर फर्किएका थिए ।

रावलले यसपटक १०औं महाधिवेशनमा आफूले अध्यक्षमा उम्मेद्धवारी दिने तयारी गरिसकेका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा रावलले भने–‘ऋषिजी, म महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी दिन्छु, म तयारीमा लागिसकेको छु । म कुनैप्नि हालतमा ब्याक हुन्नँ ।’ रावलले अध्यक्षमा उम्मेद्धवारी दिनुभन्दा अघि आफ्नो समूहमा रहेका नेताहरुसँग पनि छलफल गरिसकेका छन् ।

उनले आज/भोलिभित्रै उम्मेद्धवारी घोषणा गर्ने पनि जानकारी दिएका छन् । तर, अध्यक्ष ओलीनिकट युवा नेता सूर्य थापाले भने अध्यक्ष ओलीसँग टक्कर लिन चाहने नेताहरूलाई सौराहाको चिसो ख्याल गर्न आग्रह गरेका छन् । उनले ओलीसँग टक्कर लिनेहरुको जमानत जफत हुनसक्ने पनि चेतावनी दिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्