Logo

तीन कोइरालाबीच शक्ति बाँडफाँडमा सकस, कस्को चाहना के ?



काठमाडौं, २ मंसिर । नेपाली काँग्रेसभित्र इतिहास बोकेको कोइराला परिवारका तीन सदस्यबीच शक्ति बाँडफाँडमा सकस देखिएको छ । महामन्त्री डा. सशांक कोइराला, केन्द्रीय सदस्यहरु सुजाता कोइराला र डा. शेखर कोइराला तीनैजना सभापतिको आकांक्षी हुँदा यस्तो सकस देखिएको हो ।

कोइराला परिवारमा सशांक संस्थापक नेता वीपी कोइरालाका कान्छा छोरा हुन् । सुजाता पूर्वसभापति गिरिजाप्रसाद कोइरालाका छोरा हुन् । शेखर पूर्व केन्द्रीय सदस्य नोना कोइरालाका छोरा हुन् । तीनैजना नेता एउटै परिवारका सदस्य हुन् ।

उमेरले शेखर सबैभन्दा जेठा हुन् । उनी ७० वर्ष कटिसकेका छन् । त्यसपछि सुजाता अनि शेखर हुन् । तर, राजनीतिमा सबैभन्दा पहिले सुजाता आएकी हुन् । उनी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भइसकेकी छिन् । सशांक र शेखरको सरकारमा सहभागी भएको अनुभव छैन ।

पकडका हिसाबले भने महामन्त्री भएकाले सशांकको बलियो रहेको दाबी छ । शेखर बितेको पाँच वर्ष निकै दौडधूपमा लागे । सुजातालाई काँग्रेसभित्र अन्तर कुन्तरमा बसेकाहरुको साथ छ । गिरिजाप्रसाद कोइराला २० वर्ष राजनीतिमा प्रभावशाली हुँदा सुजाता शक्ति अभ्यासको केन्द्रमा रहेकी थिइन् । कार्यकर्ता संरक्षण गरेको र अवसर सृजना गरेकाले उनको पनि पकड छ ।

तीनैजना कोइरालाले साझा उम्मेदवारी घोषणा गर्ने सहमति बनिसकेको चर्चा चल्यो । बुधबार साझा उम्मेदवारी घोषणा गर्ने हल्ला चलेपनि सशांक संखुवासभा गए ।

यसलाई अर्थपूर्ण मानिएको छ । तर, सुजाता कोइराला पनि असन्तुष्ट भइसकेकी थिइन् । आफू विना राजनीतिक एजेन्डा र आफ्ना समर्थकहरुको अवस्था के हुने निश्चित नभई सहमतिमा नजाने अडान लिइन् । यसले साझा उम्मेदवार घोषणाको पहल बीचैमा तुहियो ।

सशांक, सुजाता र शेखरबीच पावर सेयरिङको कुरा मिल्न सकेको छैन । आफूलाई मन्त्री बनाउने वचन दिएर सशांकले धोका दिएको आरोप लगाउँदै सुजाता रुष्ट छिन् । उनले सशांक कुनै हालतमा सभापति बन्न नसक्ने ठोकुवा गरिसकेकी छिन् । शेखर कोइरालालाई साथ दिन सुजाता तयार भएपनि आफ्ना समर्थकलाई उचित स्थान दिनुपर्ने अडानमा छिन् । उनीहरुबीच शक्ति बाँडफाँडमा कुरा मिल्न सकेको छैन ।

विश्वस्त स्रोतका अनुसार सशांक भावी प्रधानमन्त्रीको सुनिश्चितता र अर्को कार्यकाल सभापति छाड्ने सर्तमा मात्र सहमतिमा आउने गरी बढ्ने तयारीमा छन् । उनले आफ्ना समर्थकहरुकालागि उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको पनि दाबी गरेका छन् ।

सुजाताले पनि महत्वपूर्ण जिम्मेवारी, आफ्ना समर्थकहरुलाई पदाधिकारी दिलाउने देखि भविष्यमा सरकारमा सम्मानित पदको समेत चाहना राखेकी छिन् । कोइराला परिवारका तीन सदस्यको महत्वाकांक्षा र त्यसको सम्बोधनका लागि पावर सेयरिङ महत्वपूर्ण बनेको छ । यो मिलाउन तीनैजनालाई मुश्किल परिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्