Logo

‘मिसेस नेपाल वर्ल्ड’लाई वाईवाईको साथ



काठमाडौं, २ मंसिर । ‘मिसेस नेपाल वर्ल्ड’ सौन्दर्य प्रतियोगितामा अब वाईवाई जोडिने भएको छ ।

यस प्रतियोगितामा चौधरी गुप्रको लोकप्रिय चाउँचाउँ जोडिएसँगै यसको नाम ‘वाईवाई मिसेस नेपाल वर्ल्ड’ हुने आयोजकले जनाएको छ ।

आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको उक्त कार्यक्रम ‘वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’का नाममा हुनेछ । झाका अनुसार ‘मिसेस नेपाल वर्ल्ड’ सँगै सोही स्टेजमा ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’ उपाधि विजेता पनि चयन गरिनेछ ।

तीनै प्रतियोगिताका लागि आगामी शनिवार पुरानो वानेश्वरस्थित डाइनिङ पार्कमा अडिसन हुनेछ । आवेदन संस्थाको शंखमूलस्थित कार्यालय तथा नयाँबानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलबाट प्राप्त गर्न सकिनेछ ।

आयोजकले ‘मिसेस नेपाल वर्ल्ड’को विजेतालाई आगामी २०२२ को जनवरीमा अमेरिकाको लसभेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएको छ ।

यता ‘मिसेस नेपाल इन्टरनेसनल’को पाँचौ संस्करण सन् २०१९ मा सम्पन्न भए पनि कोभिड १९ का कारण २०२० मा स्थगित हुन पुगेको थियो । यसवर्षदेखि यो प्रतियोगितालाई परिमार्जित रुपमा अगाडि बढाउने आयोजकले जनाएका छन् ।

यो वर्ष ‘मिसेस वर्ल्ड’मा नेपालको पहिलो सहभागिता हुनेछ भने ‘मिसेस इन्टरनेसनल नेपाल’ र ‘एमएस नेपाल इन्टरनेसनल’का विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ तथा ‘एमएस इन्टरनेसनल’मा सहभागिता जनाउने छन् ।

अश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगिताको नियमित तालिम र प्रशिक्षण आगामी मंसिर ८ गतेदेखि नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ । प्रतियोगिताको तयारीमा अन्य ख्यातिप्राप्त विशिष्ट ब्यक्तिहरूद्वारा पनि तालिम प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्