Logo

गुणस्तरहीन यी सिमेन्टदेखि होशियार !



काठमाडौं, २ मंसिर । सिमेन्टहरुको गुणस्तरमा प्रश्न उठ्दै आएकोमा गुणस्तर तथा नापतौल विभागले परीक्षण गर्दा गम्भीर खुलासाहरु भएका छन् । केही सिमेन्टको ग्रेड उल्लेख गरेभन्दा कम पाइएको छ ।

जगदम्बा, मारुती र युनाइटेड सिमेन्टको ग्रेड कम पाइएको हो । विभागले परीक्षण गर्दा ग्रेड उल्लेख भएभन्दा कम पाएपछि विक्रीमा रोक लगाएको छ । बजारमा विक्रीका लागि लगिएका सिमेन्टहरु पनि जफत गर्न निर्देशन दिदै १५ दिनभित्र स्पष्टिकरण दिन भनिएको छ ।

जगदम्बाको पीपीसी सिमेन्ट, मारुतीको ४३ र युनाइटेडको ५३ ग्रेड भनिएको सिमेन्टको नेपाल गुणस्तर बमोजिम नरहेको विभागले हिजो जारी गरेको सूचनामा भनिएको छ ।

मारुतीको संकलित नमूनाको कम्प्रेसिभ स्ट्रेन्थ एमपीए ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ भएको, युनाइटेडको ३७ र ५३ हुनुपर्नेमा ३५ र ३९ भएको र जगदम्बाको न्यूनतम १६ र २२ हुनुपर्नेमा १५ र २० मात्र भएको परीक्षणबाट देखिएको विभागले जनाएको छ ।

नेपाल गुणस्तर बमोजिम नभएका यी सिमेन्टहरु अत्याधिक प्रयोग हुनेमा पर्दछन् । देशका विभिन्न भवन, पुल, बाटोघाटो, ठूला आयोजना निर्माणमा प्रयोग भएका सिमेन्टको गुणस्तरमाथि प्रश्न उठ्नुले जोखिमहरु रहेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्