Logo

विकास खर्च महामारीको समयमा भन्दा कमजोर



काठमाडौं, मंसिर २ । गठबन्धन सरकारले विकासको गतिलाई तीव्रता दिने आफ्नो न्यूनतम साझा कार्यक्रमदेखि बजेट प्रतिस्थापन विधेयकमार्फत घोषणा गरे पनि त्यसको कार्यान्वयन पक्ष भने निकै कमजोर देखिएको छ ।

चालू आर्थिक वर्ष (आव) २०७८/७९ शुरू भएको ४ महीनामा विकासको गति महामारीको सयममा भन्दा पनि बढी कमजोर देखिएको छ । आर्थिक वर्ष शुरू भएको पहिलो ४ महीना बितिसक्दा पूँजीगत खर्च ५ प्रतिशतको हाराहारीमा मात्र पुगेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार कात्तिक मसान्तसम्ममा विनियोजितमध्ये २० अर्ब ७९ करोड रुपैयाँ मात्रै अर्थात् पूँजीगत खर्च जम्मा ४ दशमलव ७३ प्रतिशत भएको छ । यो वर्ष पूँजीगत खर्च अघिल्लो वर्षको महमारीको समयमा भन्दा पनि कम भएको हो ।

आर्थिक वर्ष ०७७/७८ को पहिलो ४ महीनामा पूँजीगत खर्च लक्ष्यको ८ दशमलव ३४ प्रतिशत प्रगति भएको थियो । यो प्रगति चालू आवको तुलनामा दोब्बर बढी हो । लक्ष्यअनुसार खर्च गर्न बाँकी ८ महीनामा विनियोजनको ९५ प्रतिशत खर्च गर्नुपर्नेछ ।

यो वर्ष चार खर्ब ३९ अर्ब रुपैयाँ बजेट विकास लक्षित पूँजीगत कामका लागि छुट्ट्याएको थियो । तर, सरकार परिवर्तनपछि अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा पूँजीगत कामका लागि तीन खर्ब ७८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

महालेखाका अनुसार पहिलो ४ महीनामा कुल बजेट विनियोजनको १७ दशमलव ६१ प्रतिशत खर्च भएको छ । तर, खर्च भएको अधिकांश रकम तलबभत्तासहितका साधारण खर्च हुन । यो वर्ष १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो । १० खर्ब ३ अर्ब रुपैयाँ चालू बजेट विनियोजनमध्ये कात्तिक मसान्तसम्ममा दुई खर्ब ३३ अर्ब रुपैयाँ अर्थात् २३ दशमलव २६ प्रतिशत खर्च भएको छ ।

खर्च प्रणाली सुधारको रटानमा अहिलेसम्मका अर्थमन्त्रीले छाडेका छैनन् । जुन अर्थमन्त्री आए पनि खर्च प्रणाली सुधारलाई प्रमुख मुद्दा बनाए पनि पछिल्लो ४ आर्थिक वर्षको पहिलो चौमासिकमा भएको पूँजीगत खर्चको अवस्था हेर्दा विकासको गति कमजोर बन्दै गएको देखिएको आजको आर्थिक अभियान दैनिकमा विजय दमासेले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्