Logo

झन्डै २४ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता



काठमाडौं, मंसिर ३ । चालू आर्थिक वर्ष २०७८/७९ को बितेका चार महिनाको अवधिमा नेपालमा झन्डै २४ अर्ब रुपैयाँको वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागका अनुसार साउनदेखि कात्तिक महिनासम्ममा विभिन्न ११० परियोजनामार्फत २३ अर्ब ८२ करोड २ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

गत आवको सोही अवधिको तुलनामा ४ अर्ब ११ करोड रुपैयाँ बढीले वैदेशिक लगानी प्रतिबद्धता आएको छ । तर, यसरी वृद्धि भएको लगानी प्रतिबद्धता भने मुलुकको संघीय राजधानी काठमाडौं केन्द्रित हुँदै गएको देखिएको विभागले जनाएको छ ।

गत आवको सो अवधिमा नेपालमा १ सय परियोजनामार्फत १९ अर्ब ७० करोड रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएकोमा यो वर्ष बढेर २३ अर्ब ८२ करोड २ लाख रुपैयाँ पुगेको छ । यसरी, वैदेशिक लगानी प्रतिबद्धतामा वृद्धि हुँदै गर्दा लगानी भने संघीय राजधानी काठमाडौं केन्द्रित भएको देखिन्छ ।

धेरैजसो वैदेशिक लगानीकर्ताहरूले विभिन्न साना ठूला परियोजना काठमाडौंमै निर्माण गर्नेगरी विभागमा लगानी प्रतिबद्धता गरेको पाइएको छ । चालू आवको बितेका चार महिनाको अवधिमा काठमाडौंमै केन्द्रित रहेर ६३ उद्योगले १० अर्ब ३४ करोड रुपैयाँ लगानीको प्रतिबद्धता जाहेर गरेका छन् ।

चालू आवको बितेका चार महिनामा आएको कुल वैदेशिक लगानीको ४३ प्रतिशत बढी लगानी काठमाडौंमै केन्द्रित रहेको विभागले जनाएको छ । पछिल्लो चार महिनामा काठमाडौंमा आएको वैदेशिक लगानी प्रतिबद्धतामध्ये सबैभन्दा बढी प्रतिबद्धता भने पर्यटन क्षेत्रमा आएको छ । विभागको तथ्यांकअनुसार यस अवधिमा काठमाडौंमा पर्यटन क्षेत्रमा मात्रै ७ अर्ब ५ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको हो ।

यस्तै, सेवा क्षेत्रमा पनि यस अवधिमा २ अर्ब ५८ करोड रुपैयाँको लगानी प्रतिबद्धता आउँदा ऊर्जामूलक क्षेत्रका उद्योगमा ५ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । पछिल्लो ४ महिनामा काठमाडौंमा उत्पादनमूलक र सूचना प्रविधि क्षेत्रमा क्रमशः ३५ करोड र ३० करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको देखिन्छ ।

अझ गत आर्थिक वर्षमा काठमाडौं केन्द्रित लगानी प्रतिबद्धता झन्डै दोब्बर रहेको आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्