सहिद स्मारक ‘ए’ डिभिजन लिग आजबाट सुरु हुँदै


काठमाडौं, ३ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आज (शुक्रबार)बाट सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा आज सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह ४ः४५ बजेबाट सुरु हुनेछ ।
दर्शकका लागि एन्फाले १०० र ५०० रुपैयाँ टिकट दर तोकेको छ । सामान्य प्यारापिटको टिकट मूल्य रु १०० र भीआइपीतर्फ रु ५०० राखिएको एन्फाले जनाएको छ ।

‘ए’ डिभिजन लिगमा १४ क्लब रहेका छन् ।

लिगमा मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, संकटा क्लब,
जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब, च्यासल युथ क्लब, न्युरोट टिम (एनआरटि), फ्रेन्ड्स क्लब, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

लिग विजेताले ७५ लाख पाउने छन् भने उपविजेताले ५० लाख प्राप्त गर्ने छन् । यस्तै, तेस्रो हुने टोलीले पनि २५ लाख पाउने छन् ।