Logo

अमेरिकाले शिर्ष नेताहरुलाई सिधै सोध्योः एमसीसी के गर्ने ?



काठमाडौं, ३ मंसिर । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे शिर्ष नेताहरुलाई भेटेर स्पष्ट जवाफ मागेको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेताहरुसँगको भेटमा एमसीसीबारे के गर्ने भनी प्रश्न गरेका हुन् ।

लूले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा लूले एमसीसी संसदबाट पारित गर्नेबारे के हुन्छ भनी प्रश्न गरेका थिए । जवाफमा ओलीले आफूहरुसँग सत्तारुढ दलले कुनै मतलब नगरेको जवाफ दिएका थिए ।

सत्तापक्षले आफूहरुलाई एमसीसीबारे केही नसोधेको समेत ओलीको जवाफ थियो । तर, अमेरिकी विदेशमन्त्री लूले एमालेको धारणाबारे पनि सोधेको बुझिएको छ । ओलीले एमालेको धारणा सत्तापक्षको औपचारिक धारणा आएपछि आउने जवाफ दिएको बुझिएको छ ।

आजै लूले माओवादी अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गरेका छन् । उनले प्रचण्डसँगको भेटमा पनि एमसीसीबारे प्रश्न गरेको बुझिएको छ । प्रचण्डले एमसीसीबारे संशोधनको विषय उठेकोबारे कुरा राखेको बुझिएको छ ।

बिहिबार लूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी एमसीसीलाई केन्द्रमा राखेर गम्भीर कुराकानी गरेका थिए । देउवाले एमसीसी पारित गर्न आफूले प्रयास गरेको विषय राखेका थिए । तर, सत्तापक्षभित्र समस्या रहेको विषय पनि प्रष्ट राखेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्