Logo

एमसीसी पारित गर्न प्रचण्ड र नेपाल तयार नभए सत्ता गठबन्धन टुट्ने



काठमाडौं, ३ मंसिर । अमेरिकाले २८ मंसिरभित्र एमसीसी पारित गर्न समयसीमा दिएपछि नयाँ राजनीतिक घटनाक्रम विकास हुने देखिएको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले एमसीसी १४ डिसेम्बर अर्थात् २८ मंसिरभित्र पारित गरिसक्न समयसीमा दिएपछि सत्ता गठबन्धनमा कम्पन नै आउने देखिएको हो ।

एमसीसी नेपाललाई चाहिएको हो कि होइन ? भनी लूले सिधा प्रश्न शिर्ष नेताहरुलाई गरेका छन् । उनले सत्ता गठबन्धनका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अलावा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर सिधा प्रश्न गरेका हुन् । देउवा एमसीसी पारित गर्ने पक्षमा छन् । तर, उनीसँग संसदमा पारित गर्ने बहुमत छैन । प्रचण्ड एमसीसी संशोधनसहित मात्र पारित गर्नुपर्ने पक्षमा छन् । ओली खुलेका छैनन् ।

एमसीसीबारे देउवा र प्रचण्डबीच मत बाझिइसकेको छ । देउवाले आफू र प्रचण्डसहितले एमसीसी पारित गर्न अमेरिकालाई पत्र लेखेको खुलासा गरेका थिए । त्यसको प्रचण्डले खण्डन गर्दै पारित गर्नका लागि नभई समयसीमा दिन पत्र लेखेको खुलाए । यसले पनि प्रचण्ड एमसीसीको पक्षमा लागिहाल्नेमा आशंका देखिएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि एमसीसी विना संशोधन पारित गर्न नहुने पक्षमा छन् । उक्त दलका नेता झलनाथ खनालले तत्कालीन नेकपामा हुँदा अध्ययन कमिटीको संयोजक भई एमसीसी संशोधनसहित मात्र पारित गर्नुपर्ने सुझाव प्रस्तुत गरेका थिए । खनालको सुझाव प्रतिवेदन नै नेकपा एसको धारणा देखिएको छ ।

प्रचण्ड र माधव नेपाल एमसीसीको विपक्षमा उभिएमा नयाँ राजनीतिक घटनाक्रम विकास हुने देखिन्छ । २८ मंसिरको सीमा अमेरिकाले तोकिदिएकाले अब यसबारे वार कि पार हुनसक्छ । प्रचण्ड र नेपाल एमसीसीको पक्षमा नआए सत्ता गठबन्धन टुट्न सक्छ ।

जनता समाजवादी पार्टी एमसीसीको पक्षमा देखिन्छ । उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले एमसीसीबारे अनावश्यक राजनीति नगर्न भन्दै पारितमा जोड दिदै आएका छन् । तर, प्रचण्ड र माधव नेपालको धारणा फरक छ ।

एमाले अध्यक्ष ओलीले एमसीसीबारे सत्ता गठबन्धनको धारणा नआएको बताइरहेका छन् । उनले अमेरिकी सहायक विदेशमन्त्री लूसँगको भेटमा पनि आफूहरुसँग गठबन्धनले कुनै आग्रह नगरेको जवाफ दिएका छन् । यसकारण पनि उनले एमसीसीको मुद्दामै नयाँ घटना विकास हुने देखेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डले एमसीसीको विपक्षमा आफूलाई उभ्याएमा सत्ता गठबन्धन टुट्ने निश्चितप्रायः छ । उनले गठबन्धन जोगाउनका लागि पनि एमसीसी पारितको पक्षमा बढ्नुपर्ने वाध्यता आइपरेको छ । त्यो सम्भावना कमजोर छ ।

एमसीसीको विषयले देउवा र ओलीबीच निकटता बढ्न सक्छ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयमा पनि देउवा र ओलीबीच कुरा मिलेको देखिन्छ । अब एमसीसी पारित हुने हो भने सत्ता गठबन्धन सबै पक्षमा उभिनुपर्छ । त्यसो नभएको खण्डमा पारित हुन गठबन्धन टुटेर काँग्रेस, एमालेका अलावा जसपा र लोसपाको गठबन्धन बन्नुपर्छ । दुवै सम्भावना नदेखिए एमसीसी पारित हुनेछैन । त्यतिबेला एमसीसी अमेरिकाले अन्यत्र लाने निश्चित जस्तै छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot