Logo

कांग्रेसको पुरानो गुट भताभुङ्ग, सभापतिका आकांक्षी सबै असुरक्षित



काठमाण्डौ, ३ मंसिर । १३ औँ महाधिवेशनमा शेरबहादुर देउवालाई उनको गुटबाट पूर्ण समर्थन थियो । तेस्रो धार जन्माएका कृष्ण सिटौलालेसमेत दोस्रो चरणमा साथ दिएपछि देउवा सभापतिमा सजिलै निर्वाचित भए । तर अहिले अवस्था त्यस्तो छैन ।

देउवा गुटका प्रभावशाली नेता विमलेन्द्र निधी आफै सभापतिको उम्मेदवार बन्ने भन्दै देउवाको गुटबाट बाहिरिएका छन् । सिटौलाले भने अहिलेसम्म स्पष्ट रुपमा कुनै पनि संकेत दिएका छैनन् । अघिल्लो महाधिवेशनमा सभापतिमा पराजित रामचन्द्र पौडेल एकपटक कांग्रेसको नेतृत्व गर्न चाहन्छन् । उनलाई अघिल्लो महाधिवेशनमा बलियो साथ मिलेको थियो । तर अहिले पौडेल समुह पनि भत्किएको छ । यो समुहबाट त पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला पनि सभापतिको उम्मेदवार बन्ने अभियानमा छन् ।

पौडेल समुहबाट एक जना साझा उम्मेदवार बनाएर देउवालाई हराउने विषयमा पटकपटक छलफल भए पनि अहिलेसम्म चारै जनाले सभापतिको उम्मेदवार बन्ने अडान छाडेका छैनन् । पौडेल समुहका नेता प्रकाशमान सिंह र शशांक कोइरालाबीच त आरोप प्रत्यारोप नै चलिसकेको छ । स्वयम पौडेल र सिंहबीच पनि सम्बन्ध बिग्रिएको चर्चा भइरहेको छ । यद्यपी दुई नेताले विहिबार भेटघाट गरेर संवादहिनता तोड्दै एकठाउँ रहेको सन्देश दिने प्रयास गरे । तर सभापतिको उम्मेदवारीबारे भने ठोस निष्कर्ष निकाल्न सकेनन् ।

सभापतिपछिको महत्वपूर्ण पदहरु उपसभापति र महामन्त्रीमा पनि ठूलै लडाई हुने देखिन्छ । देउवाको टिमबाट उपसभापतिमा पूर्णबहादुर खड्का, विजय गच्छदार लड्ने सम्भावना छ । सभापतिको दाबी गरिरहेका गोपालमान श्रेष्ठलाई पनि उपसभापतिमा मनाउने देउवाको दाऊ छ ।

यस्तै देउवाको टिमबाट महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, बालकृष्ण खाँण र एनपी साउद दाबेदार मानिन्छन् । देउवा समुहका विश्वप्रकाश शर्माले त महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । महामन्त्रीकै लागि गगन थापा, प्रदिप पौडेल र धनराज गुरुङले पनि एक्लाएक्लै उम्मेदवारी घोषणा गरेका छन् । नेता महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दिने भनिसकेका छन् । एक्लाएक्लै उम्मेदवारी दिने भने पनि अन्तिममा कुनै न कुनै समुहमा उनीहरु समावेश हुने रणनीति लिएका हुन् ।

पदाधिकारीका लागि कांग्रेसका अन्य नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्र बडू, गुरुराज घिमिरे, मिन विश्वकर्मा, सरिता प्रसाईं, कमला पन्त, चन्द्र भण्डारी, उमाकान्त चौधरीलगायत अघि बढ्ने देखिन्छ । कांग्रेसको विधानअनुसार आठ सह–महामन्त्री चुनिन्छन् । यो पदमा धेरै नेताको नाम चर्चामा भए पनि कसैले पनि उम्मेदवारी दिने घोषणा गरेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम