Logo

राजमार्गमा चार्जिङ स्टेसन बनाउदै विद्युत प्राधिकरण



काठमाडौं, ४ मंसिर । नेपाल विद्युत प्राधिकरणले राजमार्गहरुमा चार्जिङ स्टेसन बनाउन सुरु गरेको छ ।

प्राधिकरणले मुख्यमुख्य राजमार्गका ३२ ओटा स्थानमा ५० ओटा चार्जिङ स्टेसन बनाउन शुरु गरेको बताइएको छ ।

एशियाली विकास बैङ्कको आर्थिक सहयोगमा गत वर्षदेखि चार्जिङ स्टेसन निर्माण गर्न शुरु गरिएको हो । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गर्न लागेको हो ।

पूर्वपश्चिम राजमार्गका साथै, पृथ्वी, सिद्धार्थ, बीपी र मदन भण्डारी लगायतका राजमार्गमा चार्जिङ स्टेसन राखिनेछ । उक्त कार्य आगामी छ महीनामा सम्पन्न गरिने बताइएको छ ।

विद्युत् प्राधिकरणका अनुसार चार्जर मेसिन खरीदको सम्झौता भइसकेको छ । विद्युतीय स्टेसनबाट कार आधा घण्टा र बस एक घन्टामा पूर्ण रूपमा चार्ज हुनेछ । स्टेसनमा १४२ किलोवाटको डीसी चार्जर राखिनेछ । एउटा चार्जिङ स्टेसन निर्माणको लागत करीब ८० लाख रुपैयाँ रहेको छ ।

प्राधिकरण स्रोतका अनुसार चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप ७ हजार किलोवाट विद्युत् खपत हुने अनुमान छ । हाल सञ्चालनमा आएका निजीस्तरका विद्युतीय सवारीले आ–आफ्नै ग्यारेजमा चार्ज गर्दै आएका छन् ।

आर्थिक वर्ष २०७८÷ ७९ को बजेटमार्फत् सरकारले विद्युतीय सवारी साधनको आयातमा अन्तःशुल्क खारेज गरी भन्सार महसुलसमेत घटाएको थियो ।



प्रतिक्रिया दिनुहोस्