Logo

चीनमा ‘सत्ताविरुद्ध बोल्यो कि पोल्यो’



चीन जति आर्थिक रुपमा समृद्ध बन्दै गइरहेको छ उति नै शासनसत्ता कठोर बनेको छ । त्यहाँ जतिसुकै अन्यायमा परेपनि सत्ताविरुद्ध बोल्यो कि कठोर परिणाम भोग्नुपर्ने हुन्छ । यसका केही उदाहरणहरु पछिल्लो समय बढ्न थालेका छन् ।

चीनका सबैभन्दा धनाढ्य देखि लोकप्रीय खेलाडीसम्मले सत्तालाई चुनौती हुने गरी होस् वा आफूमाथि अन्यायबारे बोल्दा नै किन नहोस् ठूलो जोखिम मोल्नुपरेको छ । ज्याक माले ठूलै चुनौती झेले । अहिले टेनिस स्टार पेङ सुआईले त्यस्तै चुनौती भोगिरहेकी छिन् ।

झट्ट हेर्दा चीनको समृद्धि र भौतिक विकास जति सुन्दर लाग्छ त्यहाँ व्यैक्तिक स्वतन्त्रता कमजोर छ । नाम चलेका र अन्तर्राष्ट्रिय ख्याति कमाएकाहरु नै अन्यायविरुद्ध बोल्दा कम्युनिस्ट सत्ताबाट समस्या झेल्नुपर्ने अवस्थामा छन् ।

अहिले टेनिस स्टार पेङ सुआई कहाँ छिन् निश्चित छैन । उनले यौन र्दुव्यवहारको खुलासा गरेकी थिइन् । चिनियाँ सामाजिक सञ्जाल वेबोमा लामो पोष्ट गर्दै आफूमाथि तत्कालीन चिनियाँ उपप्रधानमन्त्री चाङ गाओलीले यौन र्दुव्यवहार गरेको खुलासा गरेकी थिइन् । ७५ वर्षीय गाओली सन् २०१७ मा सत्तामा हुँदा उक्त घटना घटेको थियो ।

पेङले यस्तो खुलासा गरेपछि यसको स्वतन्त्र अनुसन्धानको माग गरिएको छ । विश्वका टेनिस स्टार, विश्व महिला टेनिस एशोशिएसन, राष्ट्रसंघलगायत संघसंस्थाले आवाज उठाइरहेका छन् । तर, चीन यो विषयलाई अन्यत्र मोड्न खोजिरहेको छ ।

अलिबाबाका संस्थापक ज्याक मा पनि सन् २०२० मा हराए । उनले सरकारको नीतिको विरोध गरेका थिए । उनको व्यवसायमाथि असर पार्ने कदमहरु चालियो । सन् २०२१ को सुरुमा देखापरेका ज्याक माले आफू हराउनुको कारण खुलाएनन् । उनलाई कम्युनिस्ट सत्ताको भय देखियो ।

हलिउडकी चिनियाँ नायिका फान विङविङ पनि सन् २०१८ मा तीन महिना हराइन् । उनी सामाजिक सञ्जालमा निकै लोकप्रीय थिइन् । उनीमाथि कर छलीको आरोपसहित अनुसन्धान गरिएको थियो । फान पनि कम्युनिस्ट सत्ताका लागि चुनौती बनेपछि समस्यामा परिन् ।

चीनमा सत्ताको विरोध गर्ने काटुनिष्ट देखि वैज्ञानिकहरु समेत अप्ठ्यारोमा पारिए । कतिपयलाई पक्राउ गरियो । त्यहाँको कम्युनिस्ट शासन निकै कठोर छ । सत्ताको विरोध गर्ने टिक्न कठिन छ । सत्ताविरुद्ध बोल्यो कि पोल्योको अवस्था छ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्