Logo

प्रचण्ड भन्छन्–‘शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न प्रतिवद्ध छौं’ (विज्ञप्तीसहित)



काठमाडौं, ५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भएपनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपुरण र संक्रमणकालिन न्यायको मान्यतामा आधारित छानविनको प्रकृयाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी रहेको बताएका छन् ।

आज विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५ वर्ष पुगेको अवसरमा प्रचण्डले आज एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । उनले यो अवधिमा संविधान जारी गरी यसको सफलतापूर्वक कार्यान्वयन अघि बढाईएको पनि उल्लेख गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ,‘बृहत् शान्ति सम्झौता (CPA) मा हस्ताक्षर भएको पन्ध्र वर्ष बितेको छ । यो अवधिमा हामीले नेपाली समाजका समस्याहरुलाई सम्बोधन गर्न राज्यको अग्रगामी पुनर्संरचना, लोकतन्त्रलाई संस्थागत गर्ने समावेशी समानुपातिक सहभागितामा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरी ऐतिहासिक रुपमा आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, अल्पसंख्यक तथा युवाहरुको भुमिका बढाउने प्रयत्नमा उल्लेखनीय सफलता हासिल गरेका छौं । ती सफलताप्रति हामीलाई गर्व छ । यो प्रक्रियामा योगदान गर्ने सबैलाई हार्दिक बधाई छ ।’



प्रतिक्रिया दिनुहोस्