Logo

ललितपुर काँग्रेसमा दुई पूर्व सांसदले विमलेन्द्र र सिटौलाको सहारा खोजेपछि…



काठमाडौं, ५ मंसिर । ललितपुर काँग्रेसमा दुई पूर्व सांसदहरुले अचानक फरक धार समात्न पुगेपछि तरंग आएको छ । २०७० सालको आमनिर्वाचनमा विजयी भई २०७४ सालमा पराजित भएका मदनबहादुर अमात्य र चन्द्र महर्जनले फरक धार समातेका हुन् ।

अमात्य पछिल्लो समय काँग्रेस उपसभापति विमलेन्द्र निधिको समूहमा देखिएका छन् । सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले विश्वास नगरेपछि अमात्यले निधिको सहारा खोजेका हुन् । उनी ललितपुर जिल्ला नेपाली काँग्रेसका सभापति पनि हुन् । दुई कार्यकाल सभापति भइसकेकाले काँग्रेस विधान अनुसार फेरि बन्न पाउँदैनन् ।

ललितपुरमा १० वर्ष प्रभाव बनाएका अमात्य फेरि सभापति नहुने भएपछि उनका पक्षधरहरुले धमाधम साथ छाडेका छन् । उनको निर्वाचन क्षेत्र नं ३ मा पुराना कार्यकर्ताले साथ छाडेपछि कमजोर बनेका छन् । त्यसैले उनले निधिको सहारा लिएर कृष्णप्रसाद सिटौला समूहसँग मिलेर संगठनमा पकड बनाउन खोजेका छन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट बनेका पूर्व सांसद चन्द्र महर्जन पनि राजनीतिको अन्तिम लडाईंमा पुगेका छन् । सिटौला समूहको ललितपुरको क्षेत्र नं २ मा केही प्रभाव देखिएको छ । महर्जनले आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न यस्तो उपाय अपनाएका हुन् । अमात्य र सिटौला पुनः सांसदको टिकट सुनिश्चित गर्न हातेमालो गर्दै अधिवेशनहरुमा बढेका छन् ।

अमात्यलाई आगामी निर्वाचनमा सांसदको टिकट कठिन बनेको छ । महर्जनलाई पनि चुनौती थपिएको छ । यसकारण पनि उनीहरु निधि र सिटौलाको सहारा लिएर सक्रियता देखाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्