Logo

भीम रावल को हुन् ? (परिचयसहित)



काठमाडौं, ५ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्ने पहिलो व्यक्ति हुन् डा. भीम रावल । एमालेको नवौं महाधिवेशनमा रावल सर्वाधिक मत ल्याई उपाध्यक्ष निर्वाचित भएका थिए ।

कडा बोलीले विपक्षीलाई प्रहार गर्ने स्वभावका उनीसँग लामो राजनीतिक अनुभव छ । ४ साउन २०१३ मा अछामको साँफेबगर नगरपालिका ६ कालाआम गाउँमा जन्मिएका उनले राजनीति शास्त्रमा विद्यावारिधी र कानूनमा स्नातक गरेका छन् ।

रावलको परिवारमा पत्नी संजीत रावल र विवाहित दुई छोराहरु छन् । उनका छोरा डा. प्रभात रावल र डा. प्रशान्त रावल छन् । प्रभात चिकित्सक र प्रशान्त इन्जिनियर हुन् ।

२०३० सालबाट विद्यार्थी राजनीतिमा लागेका रावल पटक पटक जेल परेका थिए । उनले तत्कालीन नेकपा मालेका नेता राधाकृष्ण मैनालीबाट पार्टी सदस्यता प्राप्त गरेका थिए ।

अनेरास्ववियु एकताको पाँचौंको संस्थापक मध्येका एक नेता रावल विदेश विभागको प्रमुख समेत बने । विद्यार्थी आवाज र स्टुडेण्डट्स भ्वाइसको सम्पादक बने । पार्टीले चलाएको पत्रिकाको सम्पादक बनेका उनी २०४८ सालपछि नेकपा एमालेको प्रचार विभागको सदस्य बने ।

२०४७ सालमा नेकपा मालेका तर्फबाट मन्त्री बनेका झलनाथ खनालको राजनीतिक सल्लाहकार बने । उनी २०४८ सालमा अछामबाट चुनाव लडेर पराजित भए । २०५१ सालमा भने निर्वाचित भए । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा पर्यटनराज्यमन्त्री बने । २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार हुँदा पर्यटनमन्त्री बने । २०५६ सालमा अछामबाट सांसदको निर्वाचनमा पराजित भए ।

२०६४ सालमा संविधानसभा निर्वाचनमा समानुपातिकतर्फका सदस्य भए । २०६६ देखि २०६८ सालसम्म गृहमन्त्री बने । २०७२ सालमा उपप्रधान तथा रक्षामन्त्री बने ।

२०७० सालमा अछामबाट निर्वाचित सांसद रावल २०७४ मा पनि निर्वाचित भएका थिए । उनले सुदूरपश्चिम र कर्णाली क्षेत्रमा बलियो पकड बनाए । उनका विभिन्न अध्ययन र साहित्यिक कृति प्रकाशित छन् ।

डा. भीम रावल
(संक्षिप्त परिचय)

जन्म र स्थायी ठेगाना : २०१३ साल साउन ४ गते, कालाआम गाउँ, साँफेबगर नगरपालिका वडा नम्बर ६, अछाम ।
बुवाको नामः मोती सिह रावल
आमाको नामः धनशोभा रावल
श्रीमतीको नामः संजीता रावल
शिक्षाः राजनीतिक शास्त्रमा विद्यावारिधि र कानूनमा स्नातक ।
सन्तान : छोराहरु १. डा. प्रभात रावल २. डा. इन्जीनियर प्रशान्त रावल (दुवै विवाहित) ।

राजनीतिक संलग्नता
= हाल नेकपा (एमाले), केन्द्रीय कमिटीको उपाध्यक्ष तथा अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाको सदस्य ।
= २०३० सालदेखि प्रगतिशील विद्यार्थी राजनीतिमा संलग्न । २०३२ सालको विद्यार्थी आन्दोलनमा सुरक्षा कानून अन्तर्गत केन्द्रीय कारागारमा बन्दी । त्यहीं झापाली राजबन्दीहरुसंग भेट । राधाकृष्ण मैनालीबाट सदस्यता प्राप्त (तर त्यसबेला कारागारमा पार्टी सदस्यता कायम नहुने भएकाले पुनः २०३५ सालमा तत्कालीन नेकपा (माले) को सदस्यता प्राप्त) ।
= २०३३ सालमा राजकाज मुद्दा अन्तर्गत कारागार । २०३५ सालदेखि पार्टीको विद्यार्थी क्षेत्रमा पार्टीको नेतृत्ववादी केन्द्रीय न्युक्लियिसको सदस्य, अनेरास्ववियु, (एकताको पाँचौं) को संस्थापक मध्येको एक नेता, २०३६ सालमा त्यस संगठनको केन्द्रीय सचिवालय सदस्य, विदेश विभागको प्रमुख, विद्यार्थी आवाज र स्टुडेण्ट्स भ्वाइसको सम्पादक । २०३८ सालमा अनेरास्ववियु, एकताको पाँचौं राष्ट्रिय सम्मेलनका सिलसिलामा गिरफ्तार, डिल्लिबजार खोरमा विद्रोह र भैरहवा कारागारमा ९ दिन आमरण अनशन ।
= २०३९ साल पछि नेकपा (माले) को काठमाण्डौ बुद्धिजीवी कमिटीको सचिव र पार्टीको तर्फबाट साप्ताहिक पत्रिकाको सम्पादनको जिम्मेवारी । २०४८ साल पछि लगत्तै प्रचार विभागको सदस्य ।
= २०५० सालदेखि विदेश विभागको सदस्य र सचिवका रुपमा लामो समय काम गरेको ।
=२०५४ सालमा छैठौं र २०५९ सालमा सातौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीकोे सदस्यमा निर्वाचित, २०६५ सालमा आठौं राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित तर केन्द्रीय कमिटीको सदस्यमा निर्वाचित तथा २०७१ सालमा नवौं राष्ट्रिय महाधिवेशनबाट सर्वाधिक मत प्राप्त गरी केन्द्रीय कमिटीको उपाध्यक्ष्मा निर्वाचित ।
=दस बर्ष सेती अञ्चल इञ्चार्ज, झण्डै १५ बर्ष प्रवास क्षेत्रको पार्टी कामको जिम्मेवारी वहन । विभिन्न समयमा केन्द्रीय संठन विभागको सदस्यको रुपमा जिम्मेवारी वहन ।
= संघीय व्यवस्था आइसकेपछि सुदूरपश्चिम प्रदेश कमिटीको संयोजक र त्यसको संस्थापक । २०७५ सालमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच एकीकरण भएपछि स्थायी कमिटीको सदस्य र सुदूरपश्चिम प्रदेश कमिटीको इञ्चार्ज ।
सरकार र संसदीय क्षेत्रको जिम्मेवारी
= २०४७ सालमा नेकपा (माले) को तर्फबाट मन्त्री बन्नुभएका झलनाथ खनालको राजनीतिक सल्लाहकार । २०४८ सालमा नेकपा (एमाले) को तर्फबाट अछाम निर्वाचन क्षेत्र नम्बर १ मा उम्ेदवार भई पराजित, २०५१ सालमा सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाको सदस्यमा विजयी । २०५१÷५२ सालमा नेकपा (एमाले) को अल्पमतको सरकारमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन र बाणिज्य राज्यमन्त्री र पछि उद्योग मन्त्रालयको समेत जिम्मेवारी वहन । २०५५ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभएको चुनावी सरकारमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन र विज्ञान र प्रविधि मन्त्री, २०५६ सालको आम निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर १ अछामबाट प्रतिनिधि सभाको सदस्यमा पराजित ।
=२०६२/६३ सालको जनआन्दोलनमा ३५ दिन सशस्त्र प्रहरीको व्यारेकमा बन्दी । २०६४ सालको संविधान सभामा नेकपा (एमाले) को तर्फबाट संविधान सभामा समानुपातिक तर्फबाट सदस्य । २०६६ सालदेखि २०६८ सालसम्म गृहमन्त्री तथा २०७२ साल कार्तिकदेखि २०७३ साल साउनसम्म उपप्रधान तथा रक्षामन्त्री ।
=२०७० सालमा अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट संविधान सभाको सदस्य निर्वाचित । संविधान सभाको संवैधानिक समिति तथा संविधान मस्यौदा समितिको सक्रिय सदस्य । माओवादी सेनाका लडाकुहरुको समायोजन तथा पुनःस्थापनासम्बन्धी विशेष समितिको सदस्य भई तथा विभिन्न वार्तामा संलग्न रही शान्ति प्रक्रियामा सक्रिय र महत्वपूर्ण भूमिका निर्वाह ।
=२०७४ सालको आम निर्वाचनमा अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको सदस्य निर्वाचित । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको लामो समयसम्म सदस्य ।
अनुभव, पेशागत दक्षता र अन्तर्राष्ट्रि क्षेत्रमा क्रियाशिलता
= मानव अधिकार संरक्षण मञ्चको केन्द्रीय सदस्य तथा निर्देशक, नेपाल बार एसोसियशनद्वारा सञ्चालित कानूनी सहायता परियोजनाको निर्देशक तथा कानूनको सम्पादक ।
=अधिवक्ता । मानवाधिकार र विकाससम्बन्धी निदरल्याण्ड्को इन्स्टिच्युट अफ सोसल स्टडिजमा तीन महिने विशेष अध्ययन । जलस्रोतको उपयोगबारे अमेरिकाको हार्वार्ड विश्व विद्यालयमा १० दिने विशेष कार्यशालामा सहभागी ।
=२०५० साल फागुनदेखि १० महिना संयुक्त राष्ट्र संघ अन्तर्गत कम्बोडियामा निर्वाचन गराउने काममा संलग्न ।
=गृह मन्त्री हुँदाका बखत संयुक्त राष्ट्र संघको महासभा र सुरक्षा परिषद्लाई न्यूयोर्कमा सम्बोधन ।
= दर्जनौं अन्तर्राष्ट्रिय सेमिनार, विभिन्न पार्टीका अधिवेशनहरु, कार्यशाला, सेमिनार तथा भ्रमणको अनुभव । एशिया, युरोप, अफ्रिका, दक्षिण र उत्तर अमेरिकाका विभिन्न देशहरु र अष्ट्रेलियाको विभिन्न समयमा भ्रमण ।

लेखन र प्रकाशन

१) नेपालमा साम्यवादी आन्दोलन, उद्भव र विकास (पुस्तक)

२) राजनीति र मानव अधिकार (पुस्तक)

३) लिम्पियाधुरा (कविता संग्रह)

४) विद्यावारिधिका लागि पलिटिकल भ्वाइलेन्स एण्ड माओइस्ट इनसर्जेन्सी इन नेपाल नामका शोधपत्र ।

५) दर्जनौं अनुसन्धानात्मक शोधपत्र, लेख तथा सयौं समसामयिक विषयका लेखहरु एवम् सयौं प्रकाशित र अप्रकाशित कविता र गीतहरु ।



प्रतिक्रिया दिनुहोस्