Logo

भरतपुर पुगेर पर्यटमन्त्री आलेले भने : नेपाललाई आइकाओको कालो सूचीबाट हटाउन पहल भइहेको छ



काठमाडौं, ५ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपालको वायु सेवालाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को कालो सूचीबाट हटाउन पहल भइरहेको बताएका छन् ।

भरतपुर महानगरले आयोजना गर्न लागेको समृद्ध चितवन कार्यक्रममा सहभागी जाने क्रममा आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो स्पष्ट पारेका छ्न । उनले नेपाल अहिले पनि आइकाओको कालो सूचीमा रहेको र यसलाई हटाएर पर्यटन प्रवद्र्धन गर्नका लागि पहल भइरहेको बताएका हुन् ।

उनले भने,“बेलायतको एक हप्ताको कार्यक्रममा जाँदा मैले आइकाओको ब्ल्याक लिष्टबाट छिट्टै हटाउन भनेको छु । नेपाल आइसकेपछि मन्त्रालयबाट पनि पत्राचार गरेर कुरा अगाडि बढाएको छु ।” सन् २०१३ देखि नेपालको वायु सेवा कालोसूचीमा रहँदै आएको छ ।

त्यस्तै, मन्त्री आलेले भारतका मुख्य सहरहरुमा थप उडान भर्ने तयारी भइरहेको जानकारी दिए। उनले भने,“भारतीय र नेपाली नागरिकबाहेक अन्य आवतजावतको वातावरण थिएन, अहिले एयर बबल हटेको छ ।” अब छिट्टै बैंङलोर, कलकत्ता, मुम्बई, चेन्नाईलगायतका सहरमा पनि उडान नियमित हुने उनको भनाइ थियो ।

कोरोना त्रास अझै कायमै रहेकाले पर्यटन क्षेत्रको विकास हुन नसकेको उनले बताए । कोभिड पूरै समाप्त नभएकाले भ्रमण वर्ष घोषणा गर्ने वा नगर्ने भन्ने विषय छलफलमै रहेको उनले जनाए । सन् २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गरिए पनि कोभिड महामारीका कारण स्थगित भएको थियो । फरक प्रसङ्गमा बोल्दै उनले भरतपुर विमानस्थलको स्तरोन्नतिका लागि मन्त्रालय सकारात्मक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्