Logo

कांग्रेस महाधिवेशनः तनहुँमा नेतृत्व छान्न मतदान हुँदै



तनहुँ, ६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सोमबार तनहुँमा हुँदैछ । तनुहँको सदरमुकाम दमौलीमा नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भईसकेको छ ।

आज क्षेत्र न १ मा ९ सय ९४ जना मतदाताले आज मतदान गर्दैछन् । त्यस्तै, क्षेत्र नम्बर २ को शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा अधिवेशन हुँदैछ । क्षेत्र नम्बर २ मा आज ८ सय ६१ जना मतदाताले नेतृत्व चयन गर्ने भएका छन् ।

तनहुँमा संस्थापन पक्षका केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई, शंकर भण्डारी, धु्रव वाग्ले, जितप्रकाश आलेको प्यानल चुनावी मैदानमा उत्रिएको छ । त्यस्तै, अर्को प्यानल वरिष्ठ नेता रामचन्द्र पौडेलको रहेको छ ।

यसैगरी, केन्द्रीय सदस्य प्रदिप पौडेल र बैकुण्ठ न्यौपानेको प्यानलपनि चुनावी मैदानमा उत्रिएको छ । प्रदेश सभा र क्षेत्रीय अधिवेशनमा प्राप्त मतको आधारमा क्षेत्र नम्बर १ मा भने पौडेल पक्ष बलियो देखिएको छ ।

क्षेत्र नम्बर १ को सभापतिमा विश्व बास्तोला र श्याम मौरातीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । बाँस्तोला पौडेल निकटका नेता हुन् तर उनी संस्थापन पक्षबाट मैदानमा उत्रिएका छन् । मौराती पौडेल र न्यौपानेका संयुक्त उम्मेदवार हुन् । त्यस्तै, सचिवमा राजु बानियाँ, चुडामणि दाहाल, दयानीधि नराल र तारानरेश पौडेलको उम्मेदवारी रहेको छ ।

क्षेत्र नम्बर २ मा सभापतिमा कृष्णराज पण्डित र चुडामणि खनाल चुनावी मैदानमा उत्रिएका छन् । खनालले भण्डारी, वाग्ले र आलेको प्यानलबाट उम्मेदवारी दिएका हुन् । पण्डित पौडेल र न्यौपानेका संयुक्त उम्मेदवार हुन् । यसैगरी, सचिवमा जीवनचन्द ठकुरी, पुर्णचन्द्र घिमिरे, प्रेमबहादुर थापा र सन्तोष घिमिरेले उम्मेदवारी दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्