Logo

‘भीम रावललाई चर्चामा आउन खुब रहर लाग्छ, यो उहाँको पहिलेदेखिकै स्वभाव हो’ : बडाल (भिडियोसहित)



नेकपा (एमाले)का स्थायी कमिटी सदस्य केशब बडालले हिजो (आइतबार)मात्रै अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका डा. भीम रावललाई ‘चर्चामा आउन र रौनकता ल्याउनको लागि माहिर नेता’को रुपमा प्रस्तुत गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा बडालले भनेका छन्– ‘म अहिले पनि के भन्छु भने–भीमजी ले यो गल्ति गर्नुहुँदैन होला । कहिलेकाहीँ उहाँलाई चर्चामा आउन, रौनकता ल्याउन, रमाईलो गर्न खुब रहर लाग्छ । यो पहिलेदेखि नै उहाँको स्वभाव नै हो । उम्मेद्वारी दर्ता गर्ने ११ गते विहान हो । त्यतिबेलासम्म उहाँले उम्मेद्वारी दर्ता नगर्न पनि सक्नुहुन्छ ।’ प्रस्तुत छ नेता बडालसँग गरिएको कुराकानीको संपादित अंशः

नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ, तयारी कस्तो भइरहेको छ ?
महाधिवेशनको तयारी सशक्त ढंगले भइरहेको छ । १९ सय भन्दा बढि प्रतिनिधिहरु छनोट भएर केन्द्रीय कार्यालयमा नाम आइसकेको छ । अब त्यसको निम्ति लोगो, ट्याग निर्माणदेखि लिएर तमाम काम भइरहेको छ । उतापनि बन्दसत्र र उद्घाटनसत्रको तयारी भइरहेको छ । पार्टीलाई अत्यन्त प्रभावकारी ढंगले राष्ट्र निर्माणमा, राष्ट्रको समृद्धिको निम्ति र राष्ट्रको एकताको निम्ति अगाडी बढाउनुपर्छ भन्ने भावनाका साथ आम नेता÷कार्यकर्ताहरु यसको तयारीमा लाग्नुभएको छ ।

केपी शर्मा ओलीलाई सर्वसम्मत् अध्यक्ष बनाउने तपाईंहरुको चाहना पुरा भएन, भीम रावलले केपी शर्मा ओलीलाई चुनौति दिनुभयो नि ?
हाम्रो पार्टीको उम्मेद्वार हुने भनेको २ सय २५ जना केन्द्रीय कमिटीमा हो । त्यसपछि निर्वाचन आयोगको निर्वाचन यसअघि नै निर्वाचन आयोगले गरिसकेको छ । साथै, अनुशासन आयोग र लेखा आयोग गरेर ३० जनाले गर्दा २ सय ५५ जनाको निर्वाचन हुन्छ । त्यसमध्ये एक जनाले म पनि उठ्छु भन्ने हल्ला मैले सुनँे । त्यसले गर्दा पार्टीको गरिमालाई माथि उठाउनेगरि पार्टी एकतालाई माथि उठाउनेगरि पार्टीमा योग्याता पुगेका मान्छेहरु आ–आफ्नो तहमा उठ्न सक्छन् । त्यो कुनै नौलो कुरा भएन ।

तर, तपाईंहरुले केपी शर्मा ओलीलाई निर्विकल्प भन्नुभएको थियो, त्यो कुरा पुरा भएन, भिम रावलले केपी शर्मा ओली भन्दा बढी पार्टीलाई मैले योगदान गरेको छु भन्नुभयो, यस विषयमा तपाईंको धारणा ?
ठीक छ, उहाँले के भन्नुभयो, त्यो त उहाँको स्वभावअनुसार नेपाली जनताले पनि चिनेका छन् । र, नेकपा (एमाले)का नेता÷कार्यकर्ताले पनि चिनेका छन् । तर, तपार्इंलाई म के भन्छु भने–उहाँमात्र होइन् अन्य कोही उठ्नुभयो भनेपनि यो हाम्रो विधानले दुई कार्यकाल भनेको पनि छ सोहीअनुरुप केपी शर्मा ओली उठ्नुभएको छ । मलाई लाग्छ हाम्रो टोटलमा ९० प्रतिशतभन्दा बढि भोट केपी शर्मा ओलीको पक्षमा जान्छ ।

केपी शर्मा ओलीले जित्नुहोला तर, प्रतिष्पर्धा त हुने भयो नि ?
यो हाम्रो पार्टीले पाचौं महाधिवेशनदेखि नै लोकतान्त्रिक विधिबाट श्रेष्ठता हाँसिल गरेर अगाडि बढ्ने सफलता हाँसिल गर्न सकिएन भने जनताको सेवा गर्न सकिएको रहेनछौं भनेर मेहनत गरेर लाग्ने भन्ने कुरा जननेता मदन भण्डारीकै अगुवाईमा ५औं महाधिवेशनले विधिवत रुपमा निर्णय गरिएको थियो । त्यसैले कोही उठ्ने भनेपछि लौन पहाडै खस्यो भनेर कसैले चिन्ता लिनुपर्दैन् । तर, म अहिले पनि के भन्छु भने–भीमजी ले यो गल्ति गर्नुहुँदैन होला । कहिलेकाहीँ उहाँलाई चर्चामा आउन, रौनकता ल्याउन, रमाईलो गर्न खुब रहर लाग्छ । यो पहिलेदेखि नै उहाँको स्वभाव नै हो । उम्मेद्वारी दर्ता गर्ने ११ गते विहान हो । त्यतिबेलासम्म उहाँले उम्मेद्वारी दर्ता नगर्न पनि सक्नुहुन्छ ।

तर, उहाँले म कुनैपनि हालतमा ‘ब्याक’ हुन्नँ भन्नुभएको छ ?
मैले उम्मेद्वार हुन पाईंदैन भनेर भनेकै छैन् नि । योग्य व्यक्तिले उम्मेद्वारी दिन पाइन्छ । यो कुरालाई एकदम पहाडजस्तो बनाउनुपर्ने आवश्यकत्ता छैन् । हाम्रो पार्टीमा कतिपय के छ भने पार्टीको काम केहीपनि नगर्ने अनि चर्चामा सधैँ आइरहनपर्ने मान्छेहरु पनि छन् । त्यसैले म के भन्छु भने–योगदानमा प्रतिष्पर्धा गरौं मलाई के भयो भनेर रुन्चे गफ नगरौं ।

तपाईंहरुले मसँग कुरा गर्दा केपी ओलीको विकल्प छैन् भन्नुभएको थियो ? तर, आज उहाँको विकल्पमा मैदानमा भीम रावल आउनुभयो नि ?
होइन्, केशव बडाल नाम गरेका मान्छे धेरै नै छन् । अरु कसैले भनेको भए बेग्लै कुरा हो । तर, मैले के भनेको छु भने–हाम्रो यो १०औं महिधिवेशनबाट हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली नै बन्नुहुन्छ । कोही उठ्न इच्छुक छ भने प्रक्रिया पुगेकाहरुलाई ठाउँ खोल्नको निम्ति एक सय वटा भोटिङ मेसिनको व्यवस्था गरिएको छ । चुनावमा लड्न पाउँछन् । त्यसैले कसैले चुनाव लड्ने भयो भनेर केपी ओलीलाई अप्ठ्यारो पर्यो भन्नु गलत हो । केपी ओली यसको निम्ति आफैँ सक्षम हुनुहुन्छ ।

त्यसोभए केपी ओलीविरुद्ध जसले उम्मेद्वारी दिएपनि केहि फरक पर्दैन् ?
केही पनि फरक पर्दैन् । इच्छा लाग्ने मान्छे उठुन् । आफ्नो–आफ्नो हैसियत देखाउन् । आम कार्यकर्ता र नेपाली जनातको बीचमा फुर्रफुर्र गर्नेहरुको हैसियत पनि जस्तो छ, त्यस्तै देखिन्छ । त्यसले त के नराम्रो गर्छ र ?

यसपटकको महाधिवेशनमा पदाधिकारीमा पनि सर्वसम्मत् गर्नुहुन्छ अथवा प्रतिष्पर्धा हुन्छ ?
मैले अघि नै भनिसकें नि–लोकतन्त्रमा सर्वसम्मत् पनि निर्वाचनको विधि हो । सर्वसम्मत् भयो भने राम्रो भयो । जुन पदमा आवश्यकत्ताभन्दा बढि उम्मेद्वारी हुन्छ, त्यहाँ प्रतिष्पर्धा हुन्छ । त्यसैले मंसिर ११ गते विहान नहुँदासम्म को उठ्छ अथवा उठ्दैन ? भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन् । त्यसैले उम्मेद्वारी दिनको निम्ति यो देशको सबैभन्दा लोकतान्त्रिक पार्टी भएको हुनाले नेकपा (एमाले)मा योग्यता भएका सबै मान्छे उठ्न पाउँछन् । तर, स्थिति के छ भने नेकपा (एमाले)लाई कमजोर बनाउनको लागि केही मान्छेहरुले खेल्न पनि खोजेका होलान । एमालेलाई कमजोर बनाएर विस्थापन नगरेसम्म हुँदैन भन्ने एकथरी मान्छेहरु छन् । किनभने नेकपा (एमाले)लाई कमजोर नबनाएर यो देशमा प्रतिक्रियावादी शक्तिको हस्तक्षेप अगाडि बढ्न सक्दैन् । साथै, गत दुई वर्षदेखि राष्ट्रिय÷अन्तराष्ट्रिय शक्तिहरु नेकपा(एमाले)लाई कमजोर बनाउन, केपी शर्मा ओलीलाई कमजोर बनाउनुपर्छ भन्ने सोच राखेरै लागेका छन् । हुँदाहुँदा पार्टीभित्रैका मान्छेहरु पनि लाग्न थालेका छन् । तर, त्यसो भएन । देशभरिका जनताहरु नेकपा (एमाले)मा प्रवेश गरिरहेका छन् । हाम्रो पार्टीबाट चोइटिएर जानुभएका कतिपय नेताहरु पनि फेरी नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । त्यसैले नेकपा (एमाले)लाई कमजोर बनाउन चाहने भनेको राष्ट्र कमजोर बनाउन चाहनेहरु हुन् । विकासको गति अबरुद्ध बनाउन चाहने मान्छेहरु नेकपा (एमाले)लाई कमजोर बनाउन चाहिरहेका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ हेर्न नचाहनेहरु हाम्रो पार्टीलाई कमजोर बनाउन चाहन्छन् । यो कुरा देश दुनियाँ सबैले बुझेका छन् ।

देशभरिका कार्यकर्ताहरुको चाहना बुझ्दा पार्टीमा सक्षम मान्छेहरु आउन् भन्ने छ, त्यसो होला त ?
हुन्छ, किन नहुनु ? त्यसैको लागि नै महाधिवेशन हुन लागेको हो । अब आउने सबै प्रतिनिधिहरु योग्य आउनुहुनेछ । नेतृत्व पनि योग्य आउनेछ । हामी त्यसैको लागि लागीरहेका छौं । सर्वसम्मत् रुपमा भएपनि सक्षम मान्छे चुनिने छन् । प्रतिष्पर्धा भयो भने नेता÷कायकर्ताहरुले सक्षमलाई नै चुन्नुहुन्छ भन्ने मलाई लाग्छ । हाम्रा नेता÷कार्यकर्ताहरु महाधिवेशनको तयारीमा लागिरहनु भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्