Logo

देउवा र पौडेलबाट पार्टी नचल्ने भन्दै युवराज न्यौपानेद्वारा सभापतिमा उम्मेद्धवारी घोषणा



काठमाडौं, ६ मंसिर । नेपाली कांग्रेसका नेता युवराज न्यौपानेले पार्टीको आगामी १४औं महाधिवेशनमा केन्द्रीय सभापतिको लागि उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आफूनिकट नेताहरुको उपस्थितिमा आज (सोमबार) काठमाडौंको होटल एम्बासडरमा उनले सभापतिमा उम्क्मेद्धवारी दिने घोषणा गरेका हुन् ।

उनले ‘युवाहरुको सपना पूरा गर्न र पार्टीमा परीक्षणमा भैसकेका नेतृत्वहरुलाई पूनः नेतृत्वमा ल्याएर परीक्षण गर्न आवश्यक नभएको’ सुनाउँदै आफूले नेतृत्व परिवर्तन गरि पार्टीमा नयाँ सञ्चार सिर्जना गर्नको लागि पनि सभापतिमा उम्मेद्धवारी दिने घोषणा गरेको सुनाए ।

उनले भने,‘पार्टीमा नयाँ सञ्चार गराउन र आशा सिर्जनाको लागि मैले सभापतिमा उम्मेद्धवारी दिएको हुँ। कांग्रेसलाई गतिशिल बनाउनुको विकल्प छैन् । अब वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबाट सम्भव छैन्, उहाँहरुबाट अब पार्टी कुनैपनि हालतमा चल्न सक्दैन् । यो मेरो निश्कर्ष हो । त्यही भएर मैले सभापतिमा उम्मेद्धवारी दिने घोषणा गरेको हुँ ।’

उनले पार्टीप्रति जनताको आशा र भरोसा कायम राख्नको लागि पनि आफ्नो उम्मेद्धवारी रहेको सुनाए । आफू सुरुदेखि नै पार्टीमा समूह, गुट तथा उपगुट बनाउन नहुने पक्षमा रहेको र त्यसको विरोधमा उभिँदै आएको पनि सुनाए । आफूले सभापतिमा उम्मेद्धवारी घोषणा गरिरहँदापनि कुनै प्यानल नबनाएको र भोलिको दिनमा पनि नहुने सुनाए ।

उनले मुद्दाको आधारमा नेतृत्व स्थापित हुनुपर्ने आफ्नो धारणा रहेको सुनाए । उनले भने,‘म अहिले पार्टी संगठन सुधारको योजना बोकेर अघि बढेको छु, पार्टीलाई पूर्ण रुपमा मासआधारित पार्टीको रुपमा रुपान्तरित गर्नेछु, अहिले विद्यमान रहेको दुई सदस्यीय प्रणालीको अन्त्य गरेर एकै सदस्यीय प्रणाली राख्नेछु, महाधिवेशनको मितिभन्दा एक वर्षअघि नै सभापतिको मनोनय प्रक्रिया सुरु गर्नेलगायत एजेण्डा मैले बोकेको छु ।’

उनले आफ्नो जीतको भनेको आफूले बोकेका वैज्ञानिक एजेण्डा नै भएको सुनाए । उनले भने,‘मैले अघि सारेका लक्ष्य पुर्याउँछु । पार्टीलाई जीवन्त र गतिशिल बनाउनुपर्छ । त्यसको लागि मसँग स्पष्ट भीजन र एजेण्डा छन् । ती सबै वैज्ञानिक छन् ।’ गोरखा, आरुघाट गाउँपालिका वडा नम्बर ८ स्थायी घर भएका न्यौपाने कांग्रेसमा सबैले रुचाएका नेताको रुपमा परिचित छन् ।



प्रतिक्रिया दिनुहोस्