Logo

९० प्रतिशत जनगणनाको काम सम्पन्न



काठमाडौं, मङ्सिर ७ । राष्ट्रिय जनगणना–२०७८ को जनगणना गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । सोमबारसम्म ८५ देखि ९० प्रतिशतजति जनगणनाको काम सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

गत कात्तिक २५ देखि सुरु भएको जनगणना सोमबारसम्म १२ दिन मुख्य गणना गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डिराज लामिछानेका अनुसार सोमबारसम्म मुख्य गणनाको ८५ देखि ९० प्रतिशत काम सम्पन्न भएको छ । सुपरिवेक्षकले नियमित रूपमा गणकसँग समन्वय गरिरहेको र सुपरिवेक्षकले जिल्ला जनगणना कार्यालयमा जनगणनाको प्रगतिबारे विवरण दिने गरेका छन् ।

केही छिटफुट भए जिल्ला जनगणना, स्थानीय जनगणना कार्यालयबाट सच्याउने काम भइरहेको र अब जनगणना सम्पन्न हुन दुई दिन मात्र बाँकी भएकाले कोही व्यक्ति जनगणनामा छुटेको भए आफैँले पनि चासो राखेर गणक, सुपरिवेक्षक, वडा कार्यालय, पालिका र जिल्ला जनगणना कार्यालयमा सम्पर्क गर्नुपर्ने छ ।

जनगणना सम्पन्न हुँदा नेपालको कुल जनसङ्ख्या तीन करोडको हाराहारीमा पुग्ने केन्द्रीय तथ्याङ्क विभागको अनुमान रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्