Logo

“जनताको मुक्ति ठूलो कि भीम रावलको उम्मेदवारी ?”



काठमाडौं, ७ मंसिर । नेकपा एमालेका स्थायी समिति सदस्य सत्यनारायण मण्डलले पार्टी अध्यक्षमा भीम रावलको उम्मेदवारीको कुनै अर्थ नरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मण्डलले भने, “दसौं महाधिवेशनबाट फेरि पनि केपी ओलीले जित्नुहुन्छ । त्यो भनिरहनुपर्ने कुरा होइन्न । तर, ओलीविरुद्ध भीमजीले अहिलेको आवश्यकता बुझ्नुभएन । उम्मेदवारी दिनैहुन्न भन्ने होइन । उहाँसँग डेमाक्रेटिक राइट छ । तर भीम रावलको उम्मेदवारी ठूलो कि जनताको मुक्ति ठूलो ?”

भीम रावलका कारण नेपाली कम्युनिस्ट आन्दोलनले धक्का खाएको आरोप पनि उनले लगाए । उनले थपे, “म भीम रावलभन्दा जुनियर होइन । चौथो राष्ट्रिय महाधिवेशनदेखि म पार्टी कमिटीमा छु । नेपालको कम्युनिस्ट आन्दोलनले जुन धक्का खायो, त्यसमा भीम रावलको पनि योगदान छ । गृहमन्त्री, रक्षामन्त्री, उपप्रधानमन्त्री, पार्टी उपाध्यक्ष भइसकेको नेताको प्रतिस्पर्धा केका लागि ? उहाँले कम्युनिस्ट आन्दोलनलाई बचाउन सक्नुभएन । उहाँ असफल मानिस हो ।”

नेता मण्डलले भीम रावल नक्कली राष्ट्रवादी भएको दाबी गरे । उनले भने, “भीम रावल केको राष्ट्रवादी ? उनमा कस्तो राष्ट्रियता छ ? राजा महेन्द्रलाई बीपी कोइरालाले २०१८ मा गोली हान्न लगाएको होइन ? दुर्गानन्द झालाई फाँसी दिने बेला कुन क्षेत्री, बाहुन र नेवार न्यायाधीशले साथ दियो ? असली देशभक्त त मधेसी जनता हुन् ।”

नेता मण्डलले वरिष्ठ अधिवक्ता शम्भु थापा र सर्वोच्च अदालतका न्यायाधीशहरुप्रति पनि आक्रोश पोखे । उनले भने, “अहिले राष्ट्रघाती, बेबकुफ, र कुलंघार शम्भु थापा अनि सामन्तका छाउरा न्यायाधीशहरु कुर्लेका छन् । शम्भु थापा विदेशीको हण्डी खाने लम्पट हो । त्यो संस्था हो कि व्यक्ति हो ? त्यसलाई कानुनको ज्ञान छ भने परमादेशबाट प्रधानमन्त्री चयन गर्न मिल्छ ?”



प्रतिक्रिया दिनुहोस्