Logo

एम्बुस बन्दै सडकका खाल्टाखुल्टी, सम्बन्धित निकायको गएन ध्यान



पर्सा, ७ मंसिर । वीरगञ्ज महानगरपालिका क्षेत्रको मुख्य मुख्य सडकमा खाल्टो परेपछि सार्वसाधारण जोखिममा यात्रा गर्न बाध्य भएका छन् । मुख्य सडकमा गहिरो खाल्टो भए पनि लामो समयसम्म मर्मतसम्भार नहुँदा सर्वसाधारणहरु जोखिममा यात्रा गर्न बाध्य भएका हुन् ।

ठूलाठूला खाल्टोका कारण दैनिक तीनदेखि चारवटा सवारी दुर्घटना भए पनि सम्बन्धित निकायले कुनै चासो नलिएको स्थानीयवासीले गुनासो गरेका छन् । कामविशेषले भन्सार क्षेत्र वा नजिकको भारतीय बजार रक्सौल जानुपर्दा जोखिममा यात्रा गर्नु परेको महानगरपालिका–२ छपकैयाका असहाब आलमले जानकारी दिए । उनले बिग्रिएको सडकका कारण दुर्घटनाको जोखिमसँगै वर्षाका बेला हिलो र हिउँदका बेल धुलोसमेत आफूहरुले खेपिरहेको गुनासो गरे ।

वीरगञ्ज भन्सार अगाडिकै मुख्य सडक वर्षौंदेखि बिग्रिए पनि सम्बन्धित निकायलाई उक्त सडक मर्मतसम्भारको कुनै चासो नहुनु दुर्भाग्यपूर्ण रहेको महानगरपालिका–१४ गण्डक निवासी अब्दु सैफ अन्सारीको भनाइ छ । उनले बिग्रिएको सडकको कारण सो क्षेत्र सधैँ धुलोम्मे हुने गरेको बताए ।

व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाका इन्जिनियर सञ्जीवकुमार गुप्ताले घण्टाघरदेखि मितेरी पुलसम्मको सडकमा रहेका खाल्टाखुल्टीलाई पुरी कालोपत्र गर्न र आवश्यकतानुसार १७ मिटर चौडाइको सडक नै निर्माण गर्ने योजनासहितको अनुमान भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा बुझाएको र मन्त्रालयले स्वीकृति दिनेबित्तिकै काम सुरु गर्ने बताए । रासस



प्रतिक्रिया दिनुहोस्