Logo

सचिवमा उम्मेद्धवारी घोषणा गरेका महेश बस्नेतको दाबी : निर्वाचन हुने स्थितिमा मैले पपुलर भोट ल्याएर जित्छु (भिडिओसहित)



‘केपी ओलीलाई फादर अफ द नेशनको रुपमा युवाले स्विकारिसके, उहाँ सर्वसम्मत् अध्यक्ष बन्नुहुन्छ’: महेश बस्नेत
भीम रावललाई उम्मेद्धवारी फिर्ता गर्न महेश बस्नेतको सुझाव

काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफूले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमार्फत नेता बस्नेतले आफूले सचिवमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् । उनले आफूले पार्टीमा खेलेको भूमिकाको कारण पनि देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिहरुले अत्यधिक मत दिने र विजयी बनाउने पनि विश्वास दिलाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली नै दशौं महाधिवेशनबाट सर्वसम्मत् अध्यक्ष हुने पनि दाबी गरे । उनले भने,‘हाम्रो अध्यक्ष केपी ओलीलाई फादर अफ द नेशनको रुपमा युवाहरुले स्विकार गरेका छन्, यो महाधिवेशनले उहाँलाई सर्वसम्मत् अध्यक्ष बनाउँछ भन्नेमा म विश्वस्त छु ।’

पार्टीले यसअघि नै विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेकोले चितवनमा हुने १०औं महाधिवेशनमा नेतृत्व चयन गरिने बताए । उनले भने,‘जनपरिचालनको हिसाबले हामीयो महाधिवेशनलाई धेरै भव्य र ऐतिहासिक बनाउँछौं । कुनै दलले अहिलेसम्म गर्न नसकेको जनसहभागिता गराउँछौं । नारायणी किनारादेखि गैंडाकोट सबै भू–भाग मानवसागरले भरिन्छ ।’

उनले नेतृत्व चयनको विषयमा अनेकखालको बहस हुने गरेको पनि स्मरण गराए । उनले भने,‘कम्युनिष्ट पार्टी नेताप्रधान होईन, नीति प्रधान हुन्छ भनेर पुष्पलालले भन्नुभएको थियो, तर नेपालमा नेतृत्वलाई विस्थापित गर्ने भूमिका पनि खेलिएको हामीले पाएका छौं, दुईधारको संघर्षको नाममा नोहरुलाई खुईल्याउने, कमजोर बनाउने र विस्थापित गर्ने काम पनि यहाँ भएको छ । भारतले नरेन्द्र मोदीलाई र चीनले सि जिनफिङलाई अघि बढाएका छन्। यो महाधिवेशनबाट हामी केपी ओलीलाई एउटा सर्वमान्य नेताको रुपमा अध्यक्षको हिसबाले अगाडि बढाउन चाहिरेका छौं ।’

अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्दा नेपालको गरिमा विश्वसामू बढेको पनि बस्नेतले स्मरण गराए । उनले भने,‘केपी ओलीले राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय राजनीतिमा जुनखालको प्रभाव दिनुभयो, त्यसले नेपाली जनताको शान, मान र गौरव बढ्यो । संसारको मार्गचित्रमा नेपालको गरिमा बढेको छ ।’

उनले रिपोर्टर्स क्लबमार्फत अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका भीम रावललाई उम्मेद्धवारी फिर्ता गर्न पनि सुझाव दिए । उनले भने,‘उहाँले दुई कारणले उम्मेद्धवारी दिएको हुनसक्छ । एउटा अध्यक्षको दाबी गर्दै पार्टीका अन्य भूमिका, पदमा स्थापित गराउन चाहेको पनि हुनसक्छ । दोस्रो, अध्यक्षमा उम्मेद्धवारी दिने अनि जित्ने कुनै सम्भावना छैन् । तर, पराजित भएपनि पार्टीमा बसेर काम गर्नको लागि पनि हुनसक्छ, भीम रावलले अध्यक्षमा दाबी गरेर एउटा राम्रो सन्देश गएन । उहाँले उम्मेद्धवारी फिर्ता गरेर जानुपर्छ । चुनावमा जाने र उहाँ निराश हुने, जसरी पछिल्लो समय उहाँको अभिव्यक्ति उत्तेजक, निराशजनक र अराजकखालको देखिँदैछ, विद्यावारिधी गरेको व्यक्तिलाई अहिले आम मानिसले फरक खालले हेर्ने दृष्टिकोण बन्दैछ ।’ उनले कम्युनिष्ट आन्दोलनलाई थप क्षति नहोस भनेर रावलले उम्मेद्धवारी फिर्ता लिँदा नै राम्रो हुने टिप्पणी गरे ।

विगतमा मधेशमा एमाले र ओलीविरुद्ध गतिविधि भएको पनि बस्नेतले स्मरण गराए । उनले भने,‘अहिले एमालेको प्रभाव दुई नम्बर प्रदेशमा धेरै राम्रो प्रभाव छ । एमालेको लहर सिर्जना भएको छ । द्धन्द्धको बेलामा एमालेको मनोभाव कमजोर थियो । ओलीले कार्यकर्ताको संरक्षण गर्नुभयो । हामीले एमालेको पँक्तिको मनोवल बढाउने काम गर्यौं । कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने कामको नेतृत्व ओलीले गर्नुभयो । एमालेको सरकार मजबुद बनाउने कुरामा, मधेशका मुद्दा सम्बोधन गर्ने, विप्लव समूह र सिके राउतलाई मूलधारमा ल्याउन भूमिका खेल्नुभयो । त्यसको लागि हामीले सशक्त भूमिका खेल्यौं । मैले भक्तपुरलाई नमूना विकासको मोडेल जिल्लाको रुपमा अघि बढाएको छु । १३ महिना उद्योगमन्त्री भएको बेला सुधारको लागि मैले धेरै भूमिका खेलेको छु । जिर्ण रहेका उद्योगलाई पूनर्जिवन दिएँ । विकासको एउटा मोडेलको रुपमा झत्तपुरलाइ अघि बढाएको कुरा सबैलाई थाहा नै छ, सरकारको नेतृत्व गर्दा अध्यक्ष ओलीले अघि सार्नुभएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा साकार पार्ने अभियानमा म सशक्त रुपमा अघि बढेको छु, म सधैं अग्रपँक्तिमा लागें ।’

उनले यसपटकको महाधिवेशनमा तीन खालको नेतृत्व समेट्नुपर्ने पनि सुझाव अघि सारे । उनले भने,‘एउटा लामो समय योगदान दिएका नेताहरुलाई समेट्नुपर्छ, अर्को समावेशीको मुहारलाई देखाउन केन्द्रीय कमिटी चयन गर्नुपर्छ र नयाँ पुस्ताका (कामकाजी पुस्तालाई) समेट्नुपर्छ । अहिले पार्टीमा संस्थागत् गुटबन्दी सकिएको छ । तर हिजो संकट हुँदा एमालेलाई काँध थापेर अघि बढेको समूह छ, माओवादीबाट आएकाहरुलाई पनि समेट्नुपर्नेछ, माधव नेपाल छोडेका साथीहरुलाई समेट्नुपर्छ । निर्वाचन हुँदापनि विवेकपूर्ण ढंगले उहाँहरुलाई समेट्नुपर्छ । यदि विवेक पुगेन भने केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनित गर्ने प्रावधानअनुसार पदाधिकारीमा पनि मनोनित गर्ने मोडेलमा जानुपर्छ ।’

उनले एमालेमा अहिले तीन खालको उमेर समूह रहेको पनि सुनाए । एउटा समूह पाको, र दोस्रो समूहमा अहिले पार्टीमा महत्व्पूर्ण योगदान खेलेको समूह र तेस्रोमा नयाँ पुस्ता रहेको बस्नेतको भनाई छ। उनले भने,‘अब पार्टी सशक्त ढंगले अघि बढ्छ, समाजवादको आधार तयार गर्ने ढंगले अघि बढ्छौं र समृद्ध नेपालको नारालाई वैज्ञानिक रुपमा लागु गर्छौं । यो नारा साकार भैरहेको छ । आगामी निर्वाचनमा एमाले एक्लैले दुई तिहाई ल्याउँनेगरि अघि बढ्छौं ।’

भीम रावलले उम्मेद्धघवारी फिर्ता लिनुभएन भने के हुन्छ ? भनेर सोधिएको प्रश्नमा अहिले पदाधिकारी सर्वसम्मत् बनाउनेबारे अधिकतम प्रयास भैरहेको जनाए । उनले भने–‘अहिले स्थायी कमिटी बैठक चलिरहेको छ । अहिले २ बजेपछि अध्यक्ष ओलीले पत्रकारहरुसँग छलफल गर्नुहुन्छ । अधिकतम सहमतिको प्रयास भैरहेको छ। यसको लागि नेताहरुबीच र दाबेदारी गरेका नेताहरुबीच अनौपचारिक छलफल तथा बैठक भैरहेका छन् । सर्वसम्मत् गर्ने कुरा लोकतन्त्रको अधिकतम विधि हो । सर्वसम्मत् भएन भने मैत्रीपूर्ण ढंगले निर्वाचनमा जान्छौं । अब भीम रावल कमरेडले उम्मेद्धवारी फिर्ता लिएर पार्टीभित्र आफूलाई सेट गरेर महत्वपूर्ण जिम्मेवारी लिएर जाने कुरा चाहीँ सबैभन्दा राम्रो र उचित विकल्प हो । यदि जानुभएन भने त निर्वाचनमा जान हामी बाध्य हुन्छौं । डिजिटल प्रणालीबाट निर्वाचन गर्ने भनेर मेशिन तयार छ । यदि सर्वसम्मत् हुने कुरामा उहाँले स्विकार गर्नुभएनभएन भने निर्वाचन स्विकार्नुको उपायबाहेक हामीसँग अर्को उपाय रहँदैन् ।’

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै समय एमालेलाई जुधेर सक्न खोज्नुभयो, पछि मिलेर सक्न खोजेको र अहिले गठबन्धन बनाएर सक्न खोजेको पनि आरोप लगाए । उनले भने,‘लामो समयदेखि नेकपा एमालेको संगठनमा एकखालको निश्क्रियताजस्तो थियो । अब प्रचण्ड कमरेडले कुनै समय एमालेलाई जुधेर सक्नखोज्नुभएको थियो, लड्न खोज्नुभाथ्यो, कुनै समय एमाले मिलेर सक्नखोज्नुभयो, अहिले गठबन्धन बनाएर एमाले सक्न खोजिरहनुभाको छ, र उहाँसँगको एकताको प्रक्रियामा हाम्रा धेरै कमरेडहरु एउटा भूमिकाविहीन भएको र तीन वर्षसम्म हामी गतिविहीन भएकोजस्तो, संगठनविहीन भएको अवस्थामा, अहिले हामी फेरि महाधिवेशनको दौरानबाट फेरि संगठनमा नयाँ जागरण ल्याईरहेका छौं । संगठन निर्माणको अभियान चलाईराखेका छौं । त्यसो भएको हुनाले अध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिवमा चाहीँ हामीले सम्मान गर्नुपर्ने नेताहरुलाई सम्मान गर्दै उहाँहरुलाई त्यो पदमा हामीले दाबी नगरीकन सचिव भनेको पदाधिकारीमा रहेर, एकदम लो प्रोफाईलमा रहेर महत्वपूर्ण काम गर्नसक्ने जिम्मेवारी हो भन्ने लागेर मैले उम्मेद्धवारी दिएको हुँ ।’

उनले एमाले युवामैत्री पार्टी भएको पनि दाबी गरे । उनले अध्यक्ष ओलीले कसैलाई पनि अहिले यो पदमा लड्नुहोस वा नलड्नुहोस भनेर नभनेको र कुनैपनि त्यस्तो संकेत वा आर्शिवाद दिने कुरा नभएको सुनाए ।

उनले भने,‘नवौं महािधवेशनमा केपी अ‍ोलीलाई ध्यक्ष बनाउनुपर्छ भनेर ठूलो मेहनत गर्नुपरेको थियो । यसपालि अध्यक्ष कमरेडले सर्वसम्मत् गर्ने अधिकतम प्रयास गर्नुभएको छ। यसपटक प्यानल बनाउने कुने प्रक्रिया हुँदैन् । त्यसो भएको हुनाले अध्यक्षले कुनै पनि संकेत वा आर्शिवाद दिने कुरा हुँदैन् । म आँफै आन्दोलनमा खारिएर आएको हुँ । केपी कमरेडसँगको मेरो एकखालको हार्दिकता भएको हुनाले मलाई देशभरिका कार्यकर्ताले माया गर्नुहुन्छ, मलाई अध्यक्षले मात्रै होईन सबैले माया गर्नुहुन्छ । मलाई लाग्छ, निर्वाचन हुने स्थितिमा मैले पपुलर भोट ल्याएर जित्छु ।’

उनले अध्यक्ष ओलीले आजसम्म मुख खोलेर कसैलाई पनि यो पदमा उम्मेवद्धराी दिनुहोस भनेर नभनेको पनि स्पष्ट पारे । उनले भने,‘मेरो उम्मेद्धवारीलाई पुष्ट्याँई गर्ने मसँग आधार छन् । दुई हजार साथीहरुले विश्वास गर्नुभएको छ। अध्यक्षको सहानुभुति मप्रति हुन्छ। सद्भाव रहनेछ।’



प्रतिक्रिया दिनुहोस्