Logo

चिनियाँ कम्युनिस्ट पार्टीसँगको भर्चुअल बैठकमा विप्लवले के भने (पूर्णपाठसहित)



काठमाडौं, ७ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले चिनियाँ कम्युनिस्ट पार्टीसँगको बैठकलाई सम्बोधन गरेका छन् । उनले भर्चुअल बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीको १९औं केन्द्रीय समितिको छैठौं विस्तारित बैठकले ऐतिहासिक निर्णय लिएको भन्दै शुभकामना व्यक्त गरेका थिए ।
विप्लवको मन्तव्यको पूर्ण पाठः

१. चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठक सम्पन्न गरी ऐतिहासिक निर्णय लिएकोमा हाम्रो पार्टी तपाईंको पार्टीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

२. आज दुई विश्व–दृष्टिकोण र दुई व्यवस्था छन् । एउटा समाजवादी र अर्को पुँजीवादी । विश्वमा शान्ति, स्थिरता र समृद्धिको नेतृत्व समाजवादी विश्वले गर्दै आएको छ र गर्नुपरेको छ भने भूमण्डलीकृत पुँजीवादले अस्थिरता, अराजकता, पर्यावरणीय प्रदूषण र अतिक्रमणको नेतृत्व गरिरहेको छ । हामी कम्युनिस्टहरूले विश्व–समाजवादका लागि अझै राम्रो योगदान गर्नु पर्नेछ । चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ व्यवस्थाको जुन दृष्टिकोण राखेको छ, त्यो हामीलाई ठीक लागेको छ ।

३. हामी नेपालमा वैज्ञानिक समाजवादका लागि लडिरहेका छौँ । नेपाली जनता समाजवादका पक्षमा छन् तर समाजवाद स्थापना गर्ने बाटोमा हाम्राअगाडि थुप्रै चुनौतीहरू छन् । समाजवादलाई रोक्नका लागि देशी तथा विदेशी पुँजीवादी प्रवृत्तिले अनेक हस्तक्षेप गरिरहेको छ । हामी नेपालमा परिवर्तन, शान्ति, स्वाधीनता, मित्रता र समृद्धि चाहन्छौँ । यसमा सबैको सहयोग रहोस् भन्ने हामी चाहन्छौँ ।
धन्यवाद !



प्रतिक्रिया दिनुहोस्