Logo

शिक्षकहरु राजनीतिक काममा अझ सक्रियतापूर्वक लाग्नुपर्छः प्रचण्ड



काठमाडौं, ७ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शिक्षकलाई राजनीतिक दलमा लाग्न दिनुपर्ने पक्षमा खुलेका छन् । उनले शिक्षकलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली कमजोर हुने तर्क गरे ।

आज माओवादीनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको दोस्रो राष्ट्रिय परिषदलाई सम्बोधन गर्दै प्रचण्डले शिक्षकहरुलाई राजनीतिमा लाग्न हौस्याए । उनले भने,‘नेपालमा जति पनि पार्टीहरु छन् सबै शिक्षकहरुकै योगदानको कारण छन् । अब शिक्षकहरुले राजनीति गर्न हुन्न भनिदिएपछि पार्टी सिस्टमलाई कमजोर पार्ने नीति बाहेक केही हुने छैन ।’

‘नेपालमा जति पनि पार्टीहरु छन् सबै शिक्षकहरुका योगदानका कारण छन् । राजनीतिक दल र विचारलाई स्थापित गर्न योगदान दिएका छन्,’ प्रचण्डले भने । शिक्षकहरु अझै सक्रियतापूर्वक राजनीतिमा लाग्नुपर्ने प्रचण्डको भनाई थियो । उनले भने, ‘म त भन्छु शिक्षकहरु अझै सक्रियतापूर्वक समाजसेवामा, राजनीतिक काममा लाग्नुपर्नेछ ।’

निर्वाचन आयोगले शिक्षक, कर्मचारी, प्राध्यापकलगायत सरकारी सेवामा रहेकाहरु राजनीतिक दलको सदस्य भएमा त्यस्तो पार्टी कानुनत अद्यावधिक नहुनेसहितको विज्ञप्ति जारी गरेको दिन प्रचण्डको भनाई आएको हो । नेपालको अधिकांश दलमा शिक्षकहरुको संलग्नता बढी हुने गरेको छ । यसले शिक्षामा नकारात्मक असर परिरहेको टिप्पणी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्