Logo

रावलको स्नेहपूर्ण सुझावबाट प्रभावित भए अव नेताहरूको व्यवस्थापन चुनावबाट हुन्छः ओली



काठमाडौं, मंसिर ८ । नेकपा एमालेको दसौं महाधिवेशनमा नेताहरूको व्यवस्थापन कसरी होला भन्ने बहस भइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र स्थापित हुन चुनाव लडेर भोट ल्याउनुपर्ने बताएका छन्।

महाधिवेशनका सन्दर्भमा राजधानीमा मंगलबार आयोजित अन्तरक्रियामा पार्टीभित्र देखिएका विभिन्न पक्षको व्यवस्थापन कसरी हुन्छ भन्ने जिज्ञासामा ओलीले यस्तो बताएका हुन्।

‘महाधिवेशनमा यो पक्षको व्यवस्थापन त्यो पक्षको व्यवस्थापन भन्ने कुरा छैन,हुँदैन। हाम्रो काम नेताहरूको व्यवस्थापनमा अल्झिने होइन। जनताको समस्यामा जोड दिने हो। अहिलेको व्यवस्थापन भनेको चुनाव लडेर भोट ल्याउनुपर्छ,’ उनले भने।

यो पक्ष वा त्यो पक्षको व्यवस्थापन गर्न थाल्यो भने पार्टीभित्र फेरि समस्या सुरु हुने र कार्यकर्तासँगै जनताको चाहना पनि त्यस्तो नभएको ओलीको भनाइ थियो। एमालेमा पूर्वमाओवादी र पार्टी फुट्नुअघि माधवकुमार नेपालको गुटमा रहेका नेताहरूको व्यवस्थापन कसरी होला भन्ने अनुमान र बहस चलिरहेका बेला ओलीले यस्तो बताएका हुन्।

दसौं महाधिवेशनबाट एमालेमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेका बेला उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। यस विषयमा धारणा राख्दै ओलीले आफ्नो आदर र सम्मानमा रावलको उम्मेदवारी घोषणा भएको बताए। ‘तपाईंहरूले उहाँको शब्दमा ध्यान दिनुस्। भीम रावलले मप्रति आदर, सम्मान, माया, स्नेह देखाउनुभएको छ। बढी खट्नुहुन्छ,थकान लाग्यो कि,आराम गर्ने हो कि भनेर हो। उहाँले कुनै चुनौती भन्नुभएको छैन,’ओलीले भने।

ओलीले रावलले आफूलाई सुझाव दिएको र स्नेहपूर्ण सुझावबाट आफू प्रभावित भएको बताएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्