Logo

न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्छः अध्यक्ष दाहाल



सुदूरपश्चिम, ८ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन् ।

आज धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले अहिलेसम्म कुनै धारणा नबनाएको बताएक थिए ।

अध्यक्ष दाहालले न्यायालयले निकास दिन नसकेमा सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक कदम चालिने बताए । “न्यायालयमा अहिले जुन समस्या देखिएको छ । त्यो सकेसम्म न्यायालयबाटै समाधान हुनुपर्छ भन्ने हाम्रो धारणा हो”, उनले भने, “न्यायालयले निकास दिन नसकेमा छिट्टै सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक निर्णय लिन्छौं ।”

अध्यक्ष दाहालले सरकार सञ्चालनमा सहयोग पु¥याउन गठित पाँच दलीय समन्वय समिति सरकारलाई निर्देशन गर्न नभइ पार्टीबीचको आपसी समझदारी, सहमति र आउन सक्ने समस्याको समाधान खोज्न बनाइएको स्पष्ट पार्दै अहिलेको गठबन्धनले चुनावसम्म निरन्तरता पाउने दाबी गरे । उनले भने, ‘‘प्रतिनिधिसभा र प्रदेशसभाको चुनावामा पनि मिलेरै जाने कुरा छ, गठबन्धनका बारेमा फैलाइएको भ्रम अन्त्य भएको छ ।’’

अध्यक्ष दाहालले अमेरिकाले दिने ऋण सहयोग र अनुदान सहयोग नलिने भन्ने नीति नेपालको नरहेको उल्लेख गर्दै आफूले अमेरिकी विदेशमन्त्रीसँगको भेटमा एमसिसी परियोजनाको ओरिजनल सहमतिको विषयमा कुरा गरेको जानकारी दिएका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका सम्बन्धमा पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले अहिले नै सरकार यताउता गर्ने भन्ने कुरा नभएको बताए । उनले आज कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्