Logo

काँग्रेस महामन्त्री खड्काले शक्ति प्रदर्शन गर्दा दुई पूर्वमन्त्री पराजित



काठमाडौं, ८ मंसिर । नेपाली काँग्रेसको विधान अनुसार महामन्त्री पूर्णबहादुर खड्का स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । तर, उनी गृहजिल्ला सुर्खेतको क्षेत्रीय अधिवेशनमा सक्रिय भई उम्मेदवार बने । अत्याधिक मत ल्याई प्रतिनिधि चयन भए ।

खड्का सभापति शेरबहादुर देउवानिकट हुन् । तर, उनको उम्मेदवारी र सक्रियताले काँग्रेसका दुई पूर्वमन्त्री पराजित भए । पराजित हुनेहरुमा संस्थापन इतर समूहका शिवराज जोशी र खड्गबहादुर बस्याल हुन् ।

सुर्खेत क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित जोशी तीनपटक मन्त्री भइसकेका छन् । सोही क्षेत्रबाट पूर्वराज्यमनत्री खड्गबहादुर बस्याल पनि पराजित भए ।
जोशी ३१० मतका साथ १३औं स्थानमा पुगे । खुल्लातर्फ जम्मा १० जना चयन भएका थिए ।

दलिततर्फ उम्मेदवार बनेका बस्यालले ३०२ मत पाउँदा देउवा पक्षका लोकबहादुर विश्वकर्माले ४७३ मत पाएका थिए ।

यतिसम्मकी सुर्खेत जिल्ला सभापति कमलराज रेग्मी महाधिवेशन प्रतिनिधि बन्न सकेनन् । उनी सुर्खेत क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भए । रेग्मी संस्थापनइतर समूहका हुन् । संस्थापन इतर पक्षका पूर्वमन्त्री हृदयराम थानीलाई पनि सुर्खेतमा ठूलो धक्का परेको छ ।

सुर्खेतमा देउवा समूह बलियो भएको छ । दुवै क्षेत्रमा उनीहरुले क्लिन स्वीप जस्तै गरे । महामन्त्री पूर्णबहादुर खड्काले यसका लागि निकै सक्रिय भूमिका निभाए ।

 



प्रतिक्रिया दिनुहोस्