Logo

आँखाको शल्यक्रिया गराउन पाउँदा वृद्धवृद्धा खुसी



दमौली, ८ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित आँखा शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको आयोजना, आँबुखैरेनी गाउँपालिका र नेपाल नेत्रहीन सङ्घ पुनस्र्थापना कार्यक्रम गोरखाको सहकार्यमा आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालित तीनदिने शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको हो ।

शिविरमा दुई सयजनाको आँखा परीक्षण गरिएको थियो । आँखामा मोतियाविन्दु देखिएकाहरुको सोही ठाउँमा नै शल्यक्रिया गरिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए ।

भरतपुर आँखा अस्पतालका डा. रञ्जीतकुमार शाहको नेतृत्वमा चिकित्सकको टोलीले वृद्धवृद्धाको आँखाको शल्यक्रिया गरेको थियो । आफ्नै ठाउँमा आँखाको शल्यक्रिया गर्न पाउँदा वृद्धवृद्धा हर्षित भएका छन् ।

गाउँपालिकाले नीतिगत निर्णय गरेर आँखा क्लिनिक र आँखा शिविर सञ्चालन गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले जानकारी दिए । “गाउँघरमै आँखाको शल्यक्रिया गर्न पाउँदा स्थानीयवासीलाई पनि सहज भयो, नत्र चितवन, पोखरा, काठमाडौं जानुपर्ने बाध्यता थियो,” उनले भने, “गाउँपालिकाले पनि अब शल्यक्रियासहितको शिविर सञ्चालन गर्ने तयारी गरेको छ ।” रासस

 



प्रतिक्रिया दिनुहोस्