Logo

प्रधानन्यायाधीश जबराबारे प्रचण्ड, नेपाल र भट्टराईको किन मिल्यो बोली ?



काठमाडौं, ८ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईको उस्तै आशयको प्रतिक्रिया आयो । प्रचण्डले धनगढी पुगेर जबराको विषयमा बोल्दा बाबुरामले ट्वीटमार्फत् कडा धारणा ल्याए ।

प्रचण्डले सर्वोच्च अदालतको समस्याको निकास न्यायालयले नदिए सत्ता गठबन्धनको बैठक बसेर निर्णय लिने बताए । प्रचण्डले भने,‘न्यायालयले निकास दिन नसके सत्ता गठबन्धनको बैठक छिट्टै बसेर आवश्यक निर्णय लिन्छौं ।’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग ल्याउनुपर्नेमा जोड दिएका छन् । उनले आल ट्वीट गर्दै प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने या संसद अघि सर्नुपर्नेबाहेकको विकल्प नभएको बताएका छन् ।

भट्टराईले न्यायपालिकाभित्र फोहोर छोपेर राख्न नसकिने भएकाले प्रधानन्यायाधीशले त्याग देखाउनुपर्ने या संसद अघि सर्नुपर्नेबाहेकको विकल्प नभएको बताएका हुन् । उनले सिधै नलेखेपनि घुमाउरो तरिकाले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने या संसदले महाभियोग लगाउनुपर्ने आशयसाथ लेखेका हुन् ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि सत्ता गठबन्धनको बैठक बसेर सर्वोच्च अदालतको अहिलेको समस्याबारे निर्णय लिने बताइसकेका छन् ।

यी अभिव्यक्तिबाट प्रचण्ड, माधव नेपाल र बाबुराम प्रधानन्यायाधीश जबराप्रति असन्तुष्ट रहेको बुझ्न सकिन्छ । उनीहरुनिकट कानुन व्यवसायीहरु नै जबराविरुद्धको अग्रिम मोर्चामा छन् ।

संवैधानिक परिषदबाट संवैधानिक निकायमा भएका नियुक्तिप्रति प्रचण्ड, नेपाल र भट्टराई असन्तुष्ट छन् । अदालतमा विचाराधीन यो मुद्दामा नियुक्ति खारेजीको आदेश जारी गर्न प्रधानन्यायाधीशमाथि दबाब सृजना गरिएको थियो ।

अर्कोतर्फ, द्वन्द्वकालीन मुद्दाले प्रचण्ड शतर्क छन् । विशेषगरी काभ्रेमा अर्जुन लामाको हत्या प्रकरणमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दा लगाइएको छ । यो मुद्दा विचाराधीन छ । जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न बारले ज्ञापनपत्र बुझाउँदा सभामुख सापकोटाले पनि बुझेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको पालामा निर्णय भएको भन्दै अख्तियारले मुद्दा चलाउनुपर्ने मुद्दा अदालतमा विचाराधीन छ । नेपाल र भट्टराईमाथिको मुद्दा पार लगाइएको छैन ।

जबराको पक्षमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देखिएका छन् । देउवाले अदालतको विषयमा नबोल्ने स्पष्ट पारिसकेका छन् । ओलीले राजीनामा दिनुपर्ने भएमा प्रधानन्यायाधीश जबराले मात्र नभई सबै न्यायाधीशले दिनुपर्ने जकिर गरेका छन् । उनले जबराको राजीनामाले मात्र समस्या समाधान नहुने भन्दै उनको बचाऊ गरेका छन् ।

देउवा पनि जबराको राजीनामाको पक्षमा छैनन् । उनले अडान लिएकैले सत्ता गठबन्धनका नेताहरुबीच मतैक्यता छैन ।



प्रतिक्रिया दिनुहोस्