Logo

गुट राजनीतिको सिकार भइन् पाण्डे, स्वतन्त्र लड्दा पनि १७५ मत पाइन्



काठमाडौं, ८ मंसिर । विद्यार्थी नेतृ करुणा पाण्डेले नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नुवाकोट क्षेत्र नं १ (क) बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा १ सय ७५ मत प्राप्त गरेकी छन् । उनले चुनावमा आफूलाई मत दिने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिएकी छन् ।

रिपोर्टर्स नेपालसँग कुरा गर्दै नेतृ पाण्डेले सधै राजनीतिमा लागेर सेवा गर्ने लक्ष्य राखेको भन्दै आफूलाई मत दिने र नदिने सबैको सेवामा सधैं लागि रहने प्रतिबद्धता गरिन् ।

उनले कांग्रेस नेता अर्जुननरसिंह केसीको प्यानलबाट उम्मेदवारी घोषणा गरेको भए पनि गुट राजनीतिको आफू सिकार भएको गुनासो गर्दै उनले भनिन् ‘अन्तिममा बाध्यताले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराइयो ।’ उनले केसी र रामशरण महतको प्यानलले आफूलाई असहयोग गरेको आरोप लगाइन् ।

उनले स्वतन्त्रबाट उम्मेदवारी दिँदा पनि आफूलाई विश्वास गरेर १ सय ७५ जनाले मत दिएकोमा खुशी व्यक्त गरिन् ।  गुटको सिकार भएर आफुले सुरुवातीमै गतिलो पाठ सिक्ने अवसर पाएको उनको भनाइ थियो ।

पब्लिक युथ क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेकी २४ वर्षीया नेतृ पाण्डेले कलाकारिता समेत गर्दै आएकी छन् । उनको मुख्य भूमिका रहेको फिल्म ‘तिम्रो हुने कहिले’ अहिले प्रदर्शन भइरहेको छ ।  कोरोना महामारीको समयमा उनले शिवपुरीमा स्वास्थ्य सामग्री पनि वितरण गरेकी थिइन् । समाजसेवा गर्ने उनले जीवनको लक्ष्य राखेकी छन् ।

 



प्रतिक्रिया दिनुहोस्