Logo

पाइलट शेर्पाले रुकुम जाने विमान नेपालगन्ज अवतरण नगरेको भए… (विज्ञप्तिसहित)



काठमाडौं, ८ मंसिर । सोमबार काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रुकुमको सल्ले विमानस्थलको लागि उडेको नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण भयो । यसबारे खूबै चर्चा भयो ।

पाइलटको डिउटी आवर सकिएको भन्दै अन्तै अवतरण गरेको चर्चा चल्यो । पाइलटमाथि दोष लगाइयो ।

तर, पाइलट नेपालगन्जमा अवतरण गर्न वाध्य रहेछन् । उनले त्यहाँ अवतरण नगरेको भए अन्तर्राष्ट्रिय उडानसम्बन्धी नियम अनुसार ठूलो कारबाही भोग्नुपर्दथ्यो ।

पाइलट पेम्बा शेर्पाको डिउटी आवर ४ बजेसम्म मात्र बाँकी थियो । नेपालगन्ज विमानस्थलमा विमान अवतरण नगरेको भए डिउटी आवर सकिन्थ्यो ।

रुकुमको सल्ले जानुपर्ने यात्रुलाई अपरान्ह ४ बजे नेपालगन्ज उत्रारिएपछि यात्रुहरुलाई नेपाल वायुसेवा निगमकै व्यवस्थामा होटलमा राखेर भोलिपल्ट विहान गन्तव्यमा पुर्याइएको थियो ।

मंगलबार दिनभर सामाजिक संञ्जाल तथा सञ्चारमाध्यमहरुमा यो विषय चर्चाको विषय भयो ।

तर, यस विषयको सत्यतथ्यबारे निगमले खुलाएको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले सो घटना बारे उठेको टिका टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै नेपालगञ्जत अवतरण गराउनु बाध्यता भएको बताएको छ ।

के रहेछ कारण ?

मंगलबार बिहान ५ः १५ का लागि काठमाडौँ–रुकुम (सल्ले) उडान तालिका तयको निगमको जहाज खराब मौसमका कारण समयमै उड्न नसकेको र दिउँसो २ः १५ मा फेरी यात्रुहरुलाई फोन गरेर बोलाएर २ः५८ मा मात्र उडेको निगमले जनाएको छ । उक्त जहाज रुकुमको सल्ले पुग्न बेलुकी ५ बज्ने तर जहाजको चालक दल सहितका अन्य कर्मचारीको ड्युटी समय ४ बजेसम्मको मात्र भएकाले नेपालगञ्जसम्म उडान भर्ने निर्णयमा निगम पुगेको उल्लेख छ ।

एक पाइलटले दैनिक १० घण्टासम्म उडान भर्न सक्ने अन्तर्राष्ट्रिय नियम अनुसार नै उक्त निर्णय लिइएको निगमले विज्ञप्तिमा भनेको छ । दैनिक १० घन्टाभन्दा बढी पाइलटले उडान भर्न पाउने छैनन् । यो अन्तर्राष्ट्रिय नियम विपरित हो । यसको उल्लंघन भएमा पाइलटमाथि कारबाही हुन्छ । एयरलाइन्समाथि पनि कारबाही हुन्छ ।

‘निगमले मध्यपश्चिम तथा सुदुरपश्चिम क्षेत्रलाई मध्यनजर गर्दै विगत एक महिना देखि व्यावसायिक÷उद्धार उडान समेत सञ्चालन गर्दै आइरहेको सन्दर्भमा निगमसँग विमानको न्युनताको कारण अर्को दिनको उडान तालिकामा समेत कुनै असर नपुगोस भन्ने हेतुले अन्तिम विकल्प स्वरुप उक्त निर्णय लिनु परेको हो । विविध प्रविधिक अड्चन तथा अन्य विविध कारणबश हुन पुगेको यस घटना उप्रान्त दोहोरिन नदिन प्रतिवद्धता जाहेर गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।’



प्रतिक्रिया दिनुहोस्